नुब्री भ्यालीमा हिमपात

हिमाल प्रेस ५ फागुन २०८१ १०:४१ | Monday, February 17, 2025
नुब्री भ्यालीमा हिमपात

गोरखा- गोरखामा पुनः भारी हिमपात भएको छ। गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए। ‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उनले भने, ‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो।’

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ। मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ। साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ। तल स्याँलासम्म हिउँ परेको छ।

भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताए। ‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उनले भने, ‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ।’

हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रर्दशक सूर्य खनालले जानकारी दिए। ‘पर्यटकलाई लिएर लार्केपास जानसक्ने अवस्था छैन, उनले भने, ‘पर्यटकसहित हामी साम्दोको होटलमा आश्रय लिएर बसिरहेका छौँ।’ मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्केपास गरी मनाङ जाने पर्यटक प्रभावित भएको उनको भनाइ छ।

यता लामोसमयपछिको हिमपात सुरु भएसँगै स्थानीयवासी खसी भएका छन्। हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका हुन्। स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसँगै करुखेती राम्रो हुने भएकाले खुसी भएका हुन्।

त्यस्तैगरी सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताए। सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ। चुमभ्याली तर्फभने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ।

प्रकाशित: ५ फागुन २०८१ १०:४१ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast