नवलपरासीमा झडपमा परेका ३५ वर्षीय युवाको अस्पतालमा मृत्यु

हिमाल प्रेस १४ फागुन २०८१ ७:२३ | Wednesday, February 26, 2025
नवलपरासीमा झडपमा परेका ३५ वर्षीय युवाको अस्पतालमा मृत्यु

नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो।

झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको भने अहिले सोही अस्पतालमा उपचार भइरहेको छ। पावारियाको अवस्था जटिल रहेकाले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको उपरीक्षक फुयाँलले बताए।

मंगलबार बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो। झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो।

घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना रहेका छन्। प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि पाँच राउन्ड अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो। अहिले झडप भएको स्थानमा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १४ फागुन २०८१ ७:२३ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast