तराई मधेश जागरण अभियानको तयारीमा जुट्न प्रचण्डको निर्देशन

हिमाल प्रेस २८ माघ २०८१ १७:५७ | Monday, February 10, 2025
तराई मधेश जागरण अभियानको तयारीमा जुट्न प्रचण्डको निर्देशन

महोत्तरी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गर्न थालेको तराई मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन्।
माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सोमबार बर्दिबासमा सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। पार्टीले जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्न थालेको जानकारी दिँदै उनले फागुन १२ गतेदेखि सुरु हुने यो अभियान सफल हुँदा मधेशमा राम्रो आधार हुने बताए।

झापाबाट सुरु गरेर कञ्चनपुरमा हुलाकी मार्ग केन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सञ्चालन गरिने जानकारी प्रचण्डले दिएका छन्। उनले दुवै अभियान सकिएपछि काठमाडौँमा देशभरिको पहिचान झल्कने गरी भव्य प्रदर्शन र सभा गर्ने बताए। अहिले विभिन्न जाति समुदायको अधिकार खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले यी तीनवटै अभियान पूरा हुँदा नयाँ राष्ट्रिय एकता पैदा हुने र जनताको अधिकार खोस्न चाहने तत्त्व पराजित हुने बताए।

अभियानपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने पछिल्लो केन्द्रीय समितिको बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब नेतृत्व चुनावबाटै निर्वाचित हुने भएकाले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न पनि निर्देशन दिए।

पहिले मधेशमा माओवादी पहिलो पार्टीका रुपमा रहेको र अहिले पनि नेता कार्यकर्ताको संख्या तथा जनमतका हिसाबले बलियो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्ताबीच बलियो एकता कायम गर्न सके फेरि पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २८ माघ २०८१ १७:५७ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast