अध्यादेश जसरी पनि पारित हुन्छ : एमाले महासचिव पोखरेल

हिमाल प्रेस २ फागुन २०८१ १७:१९ | Friday, February 14, 2025
अध्यादेश जसरी पनि पारित हुन्छ : एमाले महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सबै अध्यादेश पारित हुने बताएका छन्। एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्न आग्रह गरे।

उनले भने, ‘सरकारले ल्याएको सबै अध्यादेश पारित हुन्छ।’ अध्यादेश अघि बढाउनका लागि अनेक विकल्प रहेकाले जसरी भए पनि राज्यको कानुनमा ढाल्ने उनको दाबी छ। पोखरेलले अध्यादेशका माध्यमबाट सबै क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेको बताए। उनले भने, ‘कानुन कार्यान्वयनका लागि आवश्यक परे नियमावली बनाइनेछ।’

प्रतिनिधिसभामा सरकारले  सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेको छ।

यसैगरी संसद्मा सुशासन प्रवर्धनसम्बन्धी अध्यादेश पेस भएको छ। संसद् बैठक नचलेका बेला सरकारले ल्याएका अध्यादेश संसद् बैठक बसेको पहिलो दिन अर्थात् माघ १८ गतेको बैठकमा पेस भएको थियो। ती अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने व्यवस्था छ। दलहरूबीच सहमति नजुट्दा अध्यादेश पारितको विषय संसद्को कार्यसूचीमा पर्न सकेको छैन। सरकारमा रहेको लोसपा नेपालले अध्यादेशको विरोध गरेको छ। यसैगरी जनता समाजवादी पार्टी (नेपाल) ले पनि अध्यादेशको विरोध गर्दै आएको छ।

प्रकाशित: २ फागुन २०८१ १७:१९ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast