परिवारका साथमा सम्पूर्ण सदस्य मिलेर बसेमा त्यो घर स्वर्ग हुन्छ। जब घरभित्रका, परिवारभित्रका समस्या विभिन्न कारणले चोटका रूपमा, पीडाका रूपमा, थिचोमिचोका रूपमा, घमण्डका रूपमा, शोषणका रूपमा, अहंकारका रूपमा, इगोका रूपमा, लिंगका रूपमा अथवा हकअधिकारका रूपमा झ्याँगिँदै जान्छ र त्यो हिंसाका रूपमा परिणत हुँदै जान्छ। हिंसा भन्नाले कुनै पनि व्यक्तिलाई शारीरिक, मानसिक, भावनात्मक, लैंगिक आधारमा गरिने व्यवहार अथवा सामाजिक रूपमा हानि पुर्याउने कार्य हो। नेपाली समाजमा विभिन्न प्रकारका हिंसा देखिन्छन् जसमा गाउँसहर दुवै क्षेत्रमा फरक प्रकृतिका हिंसाका घटना हुने गरेका पाइन्छन्।
श्रीमान्-श्रीमतीबीच हुने घरेलु हिंसा, महिला बालबालिका तथा वृद्धवृद्धालाई कुटपिट गर्ने घटना, बलात्कार तथा यौन दुर्व्यवहार शारीरिक हिंसा हुन्। धम्की दिने, गालीगलौज गर्ने, मानसिक तनाव दिने, अस्वस्थ वातावरणमा मानसिक यातना दिने मानसिक हिंसा हुन्।
यसैगरी छुवाछुत वा जातीय भेद्भाव, दाइजो प्रथा र सामाजिक बहिष्कार, लिंगमा आधारित विभेद सामाजिक हिंसाअन्तर्गत पर्दछन्। महिलालाई आर्थिक रूपमा निर्भर राख्ने, सम्पत्तिमाथिको अधिकारमा नियन्त्रण गर्ने जस्ता घटना समाजमा व्याप्त पाइन्छन्। धर्म र संस्कार अनि रीतिरिवाजका नाममा हुने हिंसाका घटना पनि प्रशस्त छन्। यस्ता कतिपय घटनाक्रम बाहिर आउँछन् र कतिपय घर परिवार भित्र सीमित हुन्छन्।
गाउँ र सहरअनुसार पनि हिंसाका घटना भिन्नभिन्न छन्। गाउँमा छुवाछुत, दाइजो प्रथा, कुप्रथा र कुटपिट बढी देखिन्छन्। साक्षरताको कमीका कारण महिला हिंसाका घटनाहरू धेरै हुन्छन्। सहरमा यौन दुर्व्यवहार, मानसिक यातना, घरेलु हिंसा जस्ता समस्याहरू प्रमुख छन्। आधुनिक जीवनशैलीका कारण आर्थिक पक्षसँग जोडिएका घटना पनि छँदैछन्।
कुनै व्यक्तिले लिंगका आधारमा गरिने शारीरिक, मानसिक, यौनिक, आर्थिक वा सामाजिक हिंसालाई लैंगिक हिंसा भनिन्छ। यसअन्तर्गत महिला, पुरुष तथा लैंगिक तथा यौनिक अल्पसंख्यक सबै प्रभावित हुन सक्छन्। घरभित्रको सामाजिक, सांस्कृतिक संस्कार र परिवेश अनि घरबाहिर पनि निर्णायक भूमिकामा रहने पक्षहरूबाट लिंगकै आधारमा भेदभाव र पक्षपातपूर्ण व्यवहार गर्नु लैंगिक हिंसा हो।
नेपाल प्रहरीको तथ्यांकअनुसार विगत ५ आर्थिक वर्षमा बलात्कारका आठ हजारभन्दा बढी घटना दर्ता भएका छन्। यसैगरी बलात्कार प्रयासका घटना ३१ सय भन्दा बढ दर्ता भएका छन् भने घरेलु हिंसाका उजुरीहरू ६० हजार रहेको तथ्यांकमा उल्लेख छ। यो तथ्यांकलाई आधार मानेर हेर्दा प्रहरीसमक्ष कैयौँ घटना दर्ता भएका पाइँदैनन्।
हिंसाबाट बच्न र सजग रहन व्यक्तिगत सतर्कता, कानुनी ज्ञान र सामाजिक रुपान्तरण महत्त्वपूर्ण छ। यस पनि पहिलो कुरा त शारीरिक सुरक्षाबारे आफैँ सजग हुनुपर्छ। सार्वजनिक स्थानमा सतर्क रहनुपर्छ, अपरिचित व्यक्तिसँग सीमित सम्पर्कमा रहनुपर्छ भने राति एक्लै हिँड्दा सावधानी अपनाउनुपर्छ। साथै मोबाइल फोनमा अति आवश्यक नम्बरहरू सुरक्षित राख्नुपर्छ।
महिलाले त आत्मरक्षा तालिम लिनु प्रभावकारी हुन्छ। हिंसाको संकेत देखिएमा तुरुन्तै नजिकका व्यक्तिलाई जानकारी दिनुपर्छ। मानसिक तनाव वा हिंसाका घटना भएमा परामर्शदाता वा मनोवैज्ञानिकसँग सहयोग लिन ढिलाइ गर्नु हुँदैन। साथै कानुनी ज्ञान र सहायताबारे जानकार हुनुपर्छ। महिला बालबालिकाका लागि सरकारले उपलब्ध गराएको महिला सेल र बालबालिका सहायता प्रयोग गर्न पनि ढिलाइ गर्नु हुँदैन।
नेपाली समाजमा हिंसाका विभिन्न स्वरूप देखिन्छन्। प्रायः महिलामाथि पुरुषद्वारा गरिने हिंसालाई प्राथमिक रूपमा हेर्ने गरिन्छ। महिलाले महिलामाथि गरिने हिंसा पनि जटिल र गम्भीर देखिन्छन्। समाजभित्र हिंसा लैंगिक हिंसा, महिला बिचमा हुने हिंसा, परम्परागत अपमानजनक व्यवहारको सिकार पनि महिला नै हुने गरेका छन्।
बेलाबेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन र गोष्ठी अनि लैंगिक हिंसाविरुद्धको अभियानले पनि न्यूनीकरण गरेको पाइन्छ। निर्मूल गर्न नसकेको अवस्था तथ्यांकबाटै प्रस्ट देखिन्छ। हिंसा अन्त्य गर्नका लागि शिक्षा, कानुनी कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन गर्न जरुरी छ। महिला र महिला बिचको एकता, सहकार्यले केही मात्रामा न्यूनीकरण गर्ने देखिए तापनि हिंसामुक्त समाज निर्माणका लागि हरेक व्यक्तिले आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्छ। अनि मात्रै हिंसामुक्त समाजको निर्माण हुन जान्छ।