नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र माओवादीबीच पार्टी एकताका विषयमा चर्चा हुन थालेको धेरै भए पनि यसले मूर्त रूप लिन सकेको छैन। विगतमा चुनाव बहिष्कार गर्दै आएको नेकपाले अब संसद्बाटै समाजवादको आवाज गुन्जाउने निर्णयसहित चुनावमा जाने निर्णय लिएको छ। प्रतिपक्षमा रहेका कम्युनिस्ट घटकहरू एकजुट हुनका लागि उक्त पार्टी समाजवादी मोर्चामा पनि आबद्ध छ। पार्टी एकता, आगामी कार्यदिशा, समाजवादी मोर्चालगायतका विषयमा पार्टीका केन्द्रीय सदस्य सुमन सिंह सीसँग गरिएको कुराकानी :
माओवादीसँग एकता कहिले हुन्छ?
नेकपाले अगाडि सारेका मान्यताहरूमा माओवादी गम्भीर बन्यो भने र जनताका प्रस्तावमा इमानदार देखियो भने एकता तुरुन्तै हुन्छ। कुनै गुट, झुण्ड वा स्वार्थ समूहको टेको बन्न वा कसैको विघटन रोक्न मात्र एकता हुँदैन। नेकपा प्राविधिक एकताका पक्षमा छैन। समाजवाद स्थापनाको निम्ति एकता हुनुपर्दछ।
एकताका लागि माओवादीले कार्यदल बनाएको छ, के अब एकता सम्भव छ?
त्यो त माओवादीको कार्यदलले जान्ने कुरा हो। हाम्रो पार्टीको हालै सम्पन्न बैठकले एकताको सन्दर्भमा माओवादी पार्टीको उदासीनता बताउँदै कम्युनिस्ट र समाजवादीहरूबीच व्यापक ध्रुवीकरणको प्रस्ताव अगाडि सारेको छ। हामी अहिले ध्रुवीकरणमा जोड गर्छौँ। एकताको ढोका पनि खुला राखेका छौँ। आशा गरौँ, कार्यदलले नेकपाले अगाडि सारेका प्रस्तावमा गम्भीर छलफल गर्नेछ र एकता सुनिश्चित गर्नेछ।
ओली सरकारले तपाईँका कार्यकर्ता नछुट्ने गरी कानुन ल्याएको छ तर तपाईँहरू मौनजस्तो देखिनुभयो। के सरकारसामु निरीहता प्रकट गर्नुभएको हो?
कहाँ देख्नुभो हामी मौन भएको? पुस ८ गते हाम्रा महासचिवले वक्तव्यमार्फत प्रस्टसँग भन्नुभएको छ- ‘तीनबुुँदे सहमतिबाट पछि हट्न खोज्नु जनविरोधी कार्य हो।’ यस्ता षड्यन्त्रविरुद्ध प्रतिरोध वा विद्रोह गर्ने अधिकार नेकपासँग सुरक्षित छ भनेर महासचिवको वक्तव्यमा आएको छ। यो भन्दा धेरै के चाहियो? फेरि हाम्रो वक्तव्यपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकार तीनबुँदे सहमति लागू गर्न तयार छ भन्नुभएको पनि सुन्नुभयो होला। हामी कहिलै निरीह छैनौँ, जिम्मेवार छौँ। हामी भन्दैछौँ, देश र जनताको मामलामा राज्य गम्भीर र इमानदार नहुने हो भने नेकपासँगको तीन बुँदेविरुद्ध षड्यन्त्र गर्ने हो भने एक दिन राज्यले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था बन्न पनि सक्छ।
पार्टीले आगामी चुनाव लड्ने निर्णय गरेछ, के नेकपालाई संसदीय व्यवस्था सही लागेको हो?
हो, हामीले चुनाव लड्ने निर्णय लिएका छौँ। तर संसदीय व्यवस्था सही लागेर होइन। संसदीय व्यवस्था पुँजीवादका पक्षमा वकालत गर्ने व्यवस्था हो, अनि यो लुटेरा पुँजीवादको पक्षपाती हामी हुन सक्छौँ? यो त कल्पनै नगरौँ। तथापि संसदीय व्यवस्थाको अभ्यास गरिरहेको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि हिजोभन्दा आज तुलनात्मक रूपमा थोरै प्रगतिशील भएर आएको छ। यसले जनताका समस्याको समाधान दिन भने सकेन। जनता र देशको संकटको समाधान नेपाली विशेषताको समाजवाद हो। हामी समाजवादको आवाज संसद्मा पनि गुन्जाउँछौँ। अर्थात् हामी संसद्लाई पनि एउटा संघर्षकै मोर्चाका रूपमा प्रयोग गर्नेछौँ। कतिपय जनपक्षीय अपिलहरू हामी त्यहीँबाट पनि गर्नेछौँ। आज विश्वमै पुँजीवाद असफल हुँदै गएको छ। संसदीय व्यवस्था पूर्ण रूपमा बदनाम भइसक्यो। हामी यो व्यवस्थाका विरुद्धमा छौँ। चुनाव लड्नु भनेको यो व्यवस्था मान्नु मात्रै हो भन्ने बुझ्नु गलत हुन्छ। हामीले चुनावको मोर्चालाई संघर्षकै मोर्चाका रूपमा लिएका छौँ। त्यो संघर्ष नेपाली विशेषताको समाजवाद स्थापनाको निम्ति छ भन्ने बुझ्न जरुरी छ।
समाजवादी मोर्चामा तपाईँहरू पसेपछि मोर्चा झनै निष्कृय बनेको आरोप छ नि?
हामी पसेपछि होइन, तपाईँले यो मोर्चालाई राम्रोसँग हेर्नुभयो भने हाम्रो महासचिव नै यो मोर्चाको भाव पकड्ने र जनतालाई अपिल गर्नेमा मुख्य देखिनुभयो। हाम्रो तर्फबाट यसले लिएका निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सक्रिय भूमिका रहेको छ। बरु, उदासीनता कहाँ देखापरेको त्यो खोज्नुहोला। उदासीनताको पछाडि कुन फ्याक्टरले काम गरेको छ त्यहाँ ध्यान दिनुपर्छ भन्ने लाग्छ। समाजवादी मोर्चाले जनता उत्साही हुने स्थिति बनेपछि कुन शक्ति एक्टिभ भयो र मोर्चा आबद्ध दलहरू प्रभावित बन्न पुगे त्यो चैँ खोजीको विषय हो। प्रचण्ड एक पात्र हुन्, त्यता नजाऊँ।
माओवादीसँग हाम्रो दुरी बढेको होइन। मोर्चा निष्क्रिय बनेको पनि होइन। हाम्रो पार्टी आजको साम्राज्यवादी षड्यन्त्रविरुद्ध संघर्षमा छ। आजको दलाल पुँजीवादविरुद्धमा छ। अमेरिकी चलखेलविरुद्धमा छ। सबैलाई थाहा छ नेकपा देश र जनताका पक्षमा लडिरहेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्संगठित गर्दै युगान्तकारी अभिभारा पूरा गर्न नेकपा जनताको बीचमा छ। तर देश जनता र क्रान्तिविरुद्ध षड्यन्त्र गर्ने तत्त्वहरू पनि सक्रिय छन्। उनीहरूको पहुँच सबैतिर छ। मलाई लाग्छ उनीहरूकै चलखेल हो एकता वा समाजवादी मोर्चामा देखिएको उदासीनता पनि। को हुन्? कस्ता अनुहारका छन्? कसरी यस्ता काम गर्दैछन्? यो सबै ध्रुवीकरणका चरणमा खुल्दै जानेछन्। इमानदारहरूले यो पक्ष बुझ्न आवश्यक छ।
विप्लवले त देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ। के संसदीय व्यवस्थाअनुसार नै उहाँ प्रधानमन्त्री हुनुहुन्छ वा व्यवस्था बदलेपछि मात्र हुनुहुन्छ?
देशको नेतृत्व गर्ने चाहना मात्र होइन, अब हाम्रो दाबी रहनेछ। देशको नेतृत्व हामीले गर्ने बेला भयो भन्ने कुरा गहिरो गरी बोध गरेका छौँ। हामी तयार नहुने हो भने देश रातारात खडा गरिएका प्रायोजित कठपुतलीहरूको हातमा जाने खतरा बढेर गएको छ। हामीले संसद्लाई समाजवाद स्थापनाको आन्दोलन गर्ने संघर्षको एक मोर्चाका रूपमा प्रयोग गर्नेछौँ। हाम्रो उद्देश्य यो पुँजीवादी संसदीय व्यवस्था विघटन गरेर समाजवाद स्थापना गर्ने हो। हाम्रा महासचिवले यो महान् आन्दोलन र जनताको सत्ता निर्माण गर्ने अभिभाराको नेतृत्व गर्नु हुनेछ। प्रधानमन्त्री वा राष्ट्रपति त उहाँ बन्नु नै हुन्छ तर कुन कन्डिसनमा भन्ने कुरा अहिलै नभनौँ। यतिचैँ भनौं – अब नेपालको नेतृत्व विप्लवले गर्नुहुन्छ।
पार्टीले उत्पादन थाल्यो भनिन्छ। के छ यससम्बन्धी नयाँ योजना?
हो, पार्टीले उत्पादन गरिरहेको छ। नेकपाले अहिले देशैभरि झण्डै तीन सय बिघाभन्दा धेरै जमिनमा उत्पादन गरिरहेको छ। पशुपालन गरेको छ। पार्टीले काठमाडौँमा सी व्यापार केन्द्र पनि सञ्चालन गर्दैछ। हालै सम्पन्न हाम्रो बैठकले केही महत्त्वपूर्ण संश्लेषण पनि गरेको छ – New Economy Trac । ‘एकीकृत स्वामित्व-सामूहिक उत्पादन-व्यक्तिगत उत्तरदायित्व’ पार्टी नीतिअनुसार एक नेता एक उत्पादन अनिवार्य हुनेछ। कृषि, उद्योग वा व्यापार हामी सबै क्षेत्रमा देखिनेछौँ।
भौतिक विज्ञानमा नयाँ खोज भयो, उद्योग र उत्पादन नयाँ बन्यो, अर्थ सम्बन्ध हिजोको ठाउँमा छैन। मानिसका चेतना नयाँ भएर आयो। सामाजिक अस्तित्वमा रहेका हरेक संस्थाले नयाँ विषय खोज्यो। अस्तित्वमा रहेका सबै ठूला भनिएका पार्टिहरू तिनै २०,५० वरिपरिको दशकमा विकास गरिएका मान्यताहरूका आधारमा समाजको नेतृत्व गर्ने प्रयत्न गर्छन्। उनीहरूको आर्थिक दृष्टिकोण स्पष्ट छैन। पारदर्शी जीवन छैन। त्यही भएर ती सबै पुराना मान्यता बोकेका दल वा संस्थाहरू विघटनको बाटो पकड्न थालेका छन्। यही भ्याकुमको फाइदा उठाएर उदाउन खोजेका नयाँ भनिनेहरू भ्रम पैदा गरेर पश्चिमा स्वार्थमा देश बुझाउन निस्किएका अर्का रूपमा कठपुतली देखिन्छन्।
यो सबै बुझेर नेकपा आजको संसारका हरेक आयामहरूको गहिराइमा पुगेर अध्ययन गर्दै समाजलाई नेतृत्व दिने मान्यताहरू विकास गर्दैछ। यसमा मुख्य गरेर नेकपाको उत्पादन नीतिको महत्त्वपूर्ण भूमिका रहेको छ। यो देश नेकपाले मात्र बचाउन सक्छ, बनाउन सक्छ यसका निम्ति उत्पादनसहितको आत्मनिर्भर राजनीति, कठोर मिहेनत, गहिरो अध्ययनअनुसन्धानमा नेकपा लागेको छ।