काठमाडौँ- निफ (नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव) को आठौं संस्करण आगामी चैत ७ देखि सुरु हुने भएको छ। चैत ११ सम्म चल्ने महोत्सवमा ४० देशका ८७ फिल्म छानिएको आयोजकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोजकका अनुुसार प्रदर्शन हुने फिल्म क्यूएफएक्स सिनेमाजका सिभिल मल र छायाँ सेन्टरका हलमा प्रदर्शन गरिनेछ। साथै पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा फिल्मसम्बन्धी बहस र संवादसँग सम्बन्धित छलफल सञ्चालन हुनेछ।
यसवर्ष निफमा एआई प्रविधिबाट वा सो सम्बन्धी बिषयमा बनेको फिल्म पनि प्रतिस्पर्धामा थपिएको छ। योसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय तर्फका फिचर, सर्ट र वृत्तचित्र र लघु फिल्म विधामा अवार्ड वितरण गरिनेछ।
छनोटमा परेका फिल्म बुसान, कान्स, लोकार्नो, बर्लिनालजस्ता अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ। महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको हो।