लुम्बिनीको अन्तर्राष्ट्रियकरण : घुम्नैपर्ने सूचीदेखि आध्यात्मिक गतिविधिसम्म

विनोद परियार १ माघ २०८१ १४:३७
20
SHARES
लुम्बिनीको अन्तर्राष्ट्रियकरण : घुम्नैपर्ने सूचीदेखि आध्यात्मिक गतिविधिसम्म

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा आध्यात्मिक गतिविधि बढेपछि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र चासो बढ्न थालेको छ। लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका बौद्ध धर्म गुरुको भ्रमण तथा भिक्षु लामाको आध्यात्मिक गतिविधि वृृद्धि हुन थालेको हो। धार्मिक र आध्यात्मिक गतिविधि वृद्धिपछि बौद्ध सम्प्रदायसँगै विश्वभरका शान्तिप्रेमीहरूको रुचि लुम्बिनीप्रति बढ्न थालेको छ। लुम्बिनीको अन्तर्राष्ट्रियकरण भइरहेका बेला विश्व चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले सन् २०२५ मा घुम्नैपर्ने उत्कृष्ट ५२ पर्यटकीय गन्तव्यमध्येमा लुम्बिनीलाई नवौँ सूचीमा राखेपछि यसको थप प्रचार भएको छ।

‘विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरूको भ्रमण र आध्यात्मिक गतिविधिले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न लागिरहेका थियौँ’, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले भने, ‘यही बेला विश्वचर्चित पत्रिका द न्युयोर्क टाइम्सले घुम्नैपर्ने उत्कृष्ट नवौँ गन्तव्यका रूपमा लुम्बिनी राख्दा सकरात्मक सन्देश प्रवाह भएको छ।’

उनले अमेरिकासहित विश्वभर बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि सूचीले रुचि जगाउने विश्वास लिए। लामाले आफू उपाध्यक्षको जिम्मेवारीमा आएपछि आध्यात्मिक गतिविधिका लागि शाक्यमोन्लम पूजादेखि अतर्राष्ट्रिय स्तरका उच्च पदस्थ अधिकारीहरूको लुम्बिनी भ्रमण गराउन भूमिका खेलेको दाबी गरे।

द न्युयोर्क टाइम्सले गत मंसिरमा उद्घाटन भएको थाउजेन्ड टेम्पल (हजार बुद्धविहार) को तस्बिर राखेर लुम्बिनीलाई विश्वका उत्कृष्ट ५२ स्थानमध्ये नवौँ स्थानको सूची सार्वजनिक गरेको हो। उत्कृष्ट १० स्थानमै राखेर स्न २०२५ घुम्नैपर्ने स्थानका रूपमा लुम्बिनी समावेश गर्दा यसले अन्तर्राष्ट्रिय पर्यटकलाई भ्रमणका लालायित तुल्याउने विश्वास गरिएको छ। पत्रिकाले हजारौँ वर्षअघि लुम्बिनीको सुन्दर बगैँचामा मायादेवी रानीले सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गर्दै प्राचीन भग्नावशेष र समकालीन बौद्ध स्थलहरूलाई जीवन्त देख्न पाइने लेखेको छ।

भूकम्प गएको १० वर्षपछि लुम्बिनीमा थाउजेन्ड टेम्पलसहित नयाँनयाँ विहार मन्दिर र ध्यान केन्द्रहरू निर्माण भइरहेको व्याख्या गरिएको छ। विशेष गरी थाउजेन्ड गुम्बामा १६ फिट अग्ला तीनवटा बुद्धका मूल प्रतिमा, एक हजार सुनौला बुद्धका प्रतिमा तथा सात तथागत बुद्धका मूर्ति छन्। तिब्बती शैलीमा निर्माण गरिएको गुम्बा भित्ताका पेन्टिङहरू निकै आकर्षक छन्।

विश्वको चर्चित पत्रिकाले थाउजेन्ड गुम्बाको तस्बिर र व्याख्यासहित उत्कृष्ट गन्तव्यका रुपमा सूची सार्वजनिक गरेपछि लुम्बिनी पुग्ने पर्यटकसमेत गुम्बाको भ्रमणमा रुचि देखाएका छन्। एक महिनाअघिदेखि उद्घाटन भएर पर्यटकका लागि खुला गरिएको गुम्बाभित्र प्रवेश गरेकी महेन्द्रनगरकी रमिला विष्टले बुद्धका मूर्ति र वास्तुकलाले आफू छुट्टै संसारमा आएको महसुस भएको बताइन्। ‘बाहिर हेर्दा त अन्य गुम्बाजस्तै होला भन्ने सोचेको थिए, गुम्बाभित्र छिर्नसाथ बुद्धका मूर्ति र हजार प्रतिमाले मनमा शान्ति र करुणाभाव जागृत गरायो’, उनले भनिन्। उनले भगवान् बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरसँगै यहाँका गुम्बाहरूको भ्रमणले छुट्टै आनन्द प्राप्ति हुने बताइन्।

द न्युयोर्क टाइम्सको उत्कृष्ट नौमा लुम्बिनीलाई घुम्नैपर्ने सूचीमा राख्नुमा नोभेम्बरमा थाउजेन्ड टेम्पल उद्घाटन, त्यसपछि भएको मोन्लम पूजाले पनि सहयोग गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईको भनाइ छ। विश्वको सम्मानित मिडियाले लुम्बिनीलाई स्थापित गर्ने गरी मुख्य गन्तव्यका रूपमा राख्दा यसले लुम्बिनी भ्रमण गर्न ठूलो प्रवर्धन गर्ने उनले बताए। इसापूर्व ५६३ मा लुम्बिनीस्थित पवित्र बगैँचामा विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म भएको थियो।

यहाँ आउने तीर्थालुहरूले बुद्धजन्मस्मारक, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, लुम्बिनीको अकाट्य प्रमाणका रुपमा रहेको अशोक स्तम्भको अवलोकनले बुद्धकालीन पुरातात्त्विक अवशेषहरूबारे जानकारी लिन पाउँछन्। धार्मिक आस्थाका साथ आउने पर्यटकहरूले पूजापाठ, ध्यान गर्न पाउँछन्। निरन्तर बलिरहने शान्तिदीप, केन्द्रीय नहरमा डुंगा सयर गरेर रमाउनुका साथै विभिन्न देशका कलासंस्कृति र परम्परा झल्कने पूर्व र पश्चिमी विहार/गुम्बाको भ्रमणले छुट्टै ससारमा आएको अनुभूति गराउनेछ।

आध्यात्मिक र अन्तर्राष्ट्रिय व्यक्तित्वको भ्रमण

द न्युयोर्क टाइम्सले सन् २०२५ को घुम्नैपर्ने सूचीमा लुम्बिनी राख्ने अवस्था आउनुमा लुम्बिनीको आध्यात्मिक र अन्तर्राष्ट्रिय व्यक्तिहरूको भ्रमणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा गत मंसिर २३ गतेदेखि पुस २ गतेसम्म १० दिने शाक्यमोन्लम पूजा भयो। २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षपछि लुम्बिनी विकास कोषको पहलमा भएको थियो। १० दिनसम्म मायादेवी मन्दिर परिसरमा करिब ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूले पूजा गरे।

४१ औैँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा गरिएको शाक्यमोन्लमले लुम्बिनीमा आध्यात्मिक गतिवधि बढायो। यसअघि मंसिर ७ गते लुम्बिनीस्थित पश्चिम विहारमा पाल थुव्तेन सेडुप लिङ गुम्बाद्धारा निर्मित हजार बुद्ध मन्दिरमा एक हप्तासम्म पूजा चलेको थियो। बौद्ध गुरु छोकी निमा रिन्पोछेको पहलमा निर्मित हजार बुद्ध मन्दिर अर्थात् थाउजेन्ड गुम्बाको प्राण प्रतिष्ठान तथा विश्वशान्ति पूजामा नेपालसहित विभिन्न देशका ५ हजार बढी लामा, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरूको उपस्थित थियो।

त्यतिमात्रै होइन उक्त गुम्बाको पूजामा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सहभागिता रह्यो। यसका अतिरिक्त पछिल्ला दुई वर्षमा विभिन्न अन्तर्राष्ट्रिय महत्त्वका व्यक्तिहरूको भ्रमणले पनि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गराएको छ। सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेका थिए। गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट रुस–युक्रेन द्वन्द्वलाई लक्षित गर्दै शान्तिका लागि आह्वानसमेत गरे।

महासचिव गुटरेसको भ्रमणले विश्वमा एउटा सकरात्मक सन्देश प्रवाह भयो। यसका साथै सन् २०२४ मा श्रीलंकाका पूर्व राष्ट्रपतिद्वय रनिल विक्रमासिंघे र गोटावाय राजापाक्षेले लुम्बिनी भ्रमण गरेका छन्। यसका साथै चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेङ, चिनियाँ उपमन्त्री वाङ रुइजुन, म्यानमार सरकारका संस्कृति तथा धार्मिक मामिलामन्त्री युटिन ओलुयिन, भुटान सरकारका गृहसचिव सोनाम वाङ्गेलले लुम्बिनी भ्रमण गर्दै दुई देशको सहकार्य र लुम्बिनीको विकासबारे चासो राखे।

यसैगरी नेपालका लागि जापानी राजदूत किकुता युताका, भारतीय राजदूत नवीन श्रीवास्तव, श्रीलंकाका राजदूत सुदर्शना पाथिराना, चिनियाँ राजदूत चेन सोङ्म, चिनियाँ चर्चित हलिउड स्टार जेट्ली, संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह हल साहम्सी, नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले लुम्बिनीको प्रचारप्रसारमा सहकार्य गर्ने आश्वासन दिलाएका थिए।

म्यानमारका प्रसिद्ध तथा सर्वोच्च बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी सहित प्राचिन कपिलबस्तुको भ्रमण गरे। लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्नमा गत चैतमा विभिन्न १८ देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतको लुम्बिनी कन्क्लेभ गरिएको थियो। यसले बुद्ध जन्मस्थलको प्रचारप्रसारमा योगदान गर्ने प्रतिबद्धता जनाएको थियो।

यसैगरी १२५० जनाको श्रामणेश (अल्पकालीन भिक्षु) प्रवज्या र त्रिपिटक पाठ जस्ता धार्मिक गतिविधिले पनि लुम्बिनीलाई चलायमान बनाएको हो। लुम्बिनीमा चीन, भारत, कोरिया र थाइल्यान्डको नियमित धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समेत लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गराउन सहयोग गरेका छन्। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लुम्बिनी आएर यसको विकासका बारेमा चासो चिन्ता व्यक्त गर्ने गरेका छन्।

यसैगरी प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री, विभिन्न संसदीय समितिहरूले समेत लुम्बिनीबारे चासो चिन्ता व्यक्त गर्दै भ्रमण गर्ने गरेका छन्। लुम्बिनीको गुरुयोजना कार्यान्वयन तथा पुरातात्त्विक अन्वेषण र संरक्षणमा सरकारको चासो बढाउन कोषले सुझाव दिने गरेको छ।

आध्यात्मिक गतिविधि बढेसँगै लुम्बिनीका होटल व्यवसायी उत्साहित बनेका छन्। कोभिड महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रलाई आध्यात्मिक गतिविधिले नै चलायमान बनाउने लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए। उनले लुम्बिनी आउने पर्यटकरुलाई आतिथ्य दिन आफूहरू तयार रहेको बताउँदै आध्यात्मिक गतिविधि र पछिल्लो पर्यटकीय गन्तव्यको सूचीले निकै उर्जा दिएको बताए।

‘विश्वको उत्कृष्ट १० गन्तव्य सूचीमा लुम्बिनी पर्नु सौभाग्य र चुनौती दुवै हो’, उनले भने, ‘अब लुम्बिनी आउने पर्यटकलाई स्वागत गर्ने र यहाँ टिकाउने वातावरणका लागि हामी एकजुट भएर लाग्नुपर्छ।’ पर्यटन परिषद लुम्बिनीका सदस्यसमेत रहेका शर्माले नोभेम्बर र डिसेम्बरमा भएका दुई ठूला आध्यात्मिक गतिविधिले लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरेको बताउँदै लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीहरूबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए। बृहत्तर लुम्बिनीमा ध्यान, पूजा, मोन्लाम, कठिन दान, पूर्णिमा पूजा, दीप प्रज्वलन, गाउँ भ्रमण, स्थानीय बजारमा सपिङजस्ता पर्यटकमैत्री टुरप्याकेज बनाई लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्नुपर्ने पर्यटन व्यवसायी पुरुषोत्तम अर्यालको सुझाव छ।

कोभिडपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्यामा समेत वृद्धि भएको छ। सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए।

उनका अनुसार लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटक गरी ११ लाख ७२ हजार ३०४ जना पर्यटक आएका छन्। सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ पर्यटक भित्रिएकोमा यस वर्ष १७.३६ प्रतिशत वृद्धि भएको हो। सन् २०२४ मा ७ लाख ५८ हजार ९९० जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गर्दा १ लाख ११ हजार ४ सय २५ जना तेस्रो मुलुकका (पासपोर्टधारी) पर्यटक लुम्बिनी भित्रिएको राईले बताए। जबकि भारतबाट भने यो वर्ष वृद्धि भई ३ लाख ८ सय ८९ पर्यटकले भ्रमण गरेका छन्।

प्रकाशित: १ माघ २०८१ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast