सेटिङमा कृषि अनुदान दुरुपयोग हुँदै आएको छ : मन्त्री अधिकारी

हिमाल प्रेस २८ पुष २०८१ १७:३७
16
SHARES
सेटिङमा कृषि अनुदान दुरुपयोग हुँदै आएको छ : मन्त्री अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रामनाथ अधिकारी।

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नक्कली फार्म खडा गरी कृषि अनुदान दुरुपयोग भएको बताएका छन्।  कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, ‘८० हजार रुपैयाँदेखि एक करोड रुपैयाँसम्म नक्कली किसान भनेर अनुदान खाने र खुवाउनेबीच सेटिङ हुँदो रहेछ।’

कृषिमन्त्री अधिकारीले अनुदान खानेको नाम किन सार्वजनिक नगरेको भनेर आफूलाई दैनिक प्रश्न आउने गरेको बताए। अधिकारीले भने, ‘यसबारे अध्ययन भइरहेको छ। अनुदान खाने, खुवाउने र कृषि अनुदानका नाममा नक्कली कर्म गर्नेको काम सार्वजनिक हुन्छ।’ मन्त्री अधिकारीका अनुसार ३५ देखि ४० प्रतिशत अनुदान दुरुपयोग भएको अनुमान छ।

‘म किसानको छोरो हुँ। राजनीतिसँग खेतीमा संलग्न थिएँ। अहिले कृषिमन्त्री भएर किसानका समस्या हेर्दा अनुदानको खाने र खुवाउने समूहले दुरुपयोग गरेको देखिन्छ’, उनले भने।

उखु किसान, कृषि बिमा, पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम, कृषि सहकारी, कृषि समूह तथा कृषि फार्मलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार अनुदान रकम वितरण गरिएको छ। यी शीर्षकमा ८० हजारदेखि ५ करोडसम्म अनुदान वितरण हुँदै आएको अधिकारीले बताए।

मन्त्री अधिकारीका अनुसार मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजनाबाट वितरण हुने कृषि अनुदानमा नक्कली फार्म खडा अनुदान दुरुपयोग गरेको पाइएको छ।

पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ। मन्त्री अधिकारीका अनुसार सबैभन्दा बढी रासायिनक मलमा ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार अनुदान वितरण भएको छ। तीन वर्षयता मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजनाबाट कृषि अनुदान वितरण भइरहेको छ।

प्रकाशित: २८ पुष २०८१ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast