काठमाडौँ- भारतको आन्ध्र प्रदेशको तिरुपतिमा बुधबार राति भएको भागदौडमा परेर छ जनाको मृत्यु भएको छ। तिरुपतिमा भक्तजनहरू तिरुमला हिल्समा रहेको भगवान वेंकटेश्वर स्वामीको मन्दिरमा वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन लाग्दा भागदौड भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तिरुमला तिरुपति देवस्थानमका अध्यक्ष बीआर नायडुले घटनामा ६ जनाको ज्यान गएको बताए। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुले यस घटनाबारे एक्समा पोस्ट गर्दै भनेका छन्, ‘तिरुपतिमा विष्णु निवासम नजिकै भएको भागदौडमा धेरै भक्तजनको मृत्यु भएको खबरले मलाई स्तब्ध बनाएको छ।’
घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेकाे समाचार जनाइएको छ। १० जनवरीदेखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि देशभरबाट हजारौँ भक्तजन तिरुपति पुगेका छन्।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयको सोसल मिडिया पोस्टअनुसार ‘आन्ध्र प्रदेशको तिरुपतिमा भएको भगदडबाट म दु:खी छु। जसले आफ्नो प्रियजनलाई गुमाएका छन्,
परिवारजनलाई समवेदना छ’, प्रधानमन्त्री मोदीले भनेका छन्। मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
भारतीय लोकसभा विपक्षी नेता राहुल गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै कंग्रेस कार्यकर्ताहरुलाई उद्धारमा खटिन निर्देशन दिएका छन्। ‘तिरुपतिमा भएको घटनाले मलाई गहिरो दुःख दिएको छ। म शोक सन्तप्त परिवारसँग समवेदना प्रकट गर्दछु। घाइते भएका सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, गान्धीले एक्समा पोस्ट गरेका छन्।