काठमाडौँ- ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेटमा नेपाल प्रहरी क्लबले मधेश प्रदेशविरूद्ध शानदार प्रदर्शन गरेको छ। बीरगञ्जको नारायणी क्रिकेट मैदानमा जय ट्रफीको दोस्रो खेलमा नेपाल प्रहरीले शानदार प्रदर्शन गरेको हो।
मधेश प्रदेशलाई १२९ रनमा सीमित गरेको नेपाल प्रहरी क्लबले पहिलो दिनको खेल सकिँदासम्म पहिलो इनिङमा ४५ रनको अग्रता लिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले पहिलो इनिङमा सबै विकेट गुमाएर १२९ रनमात्रै बनाउन सक्यो। मधेशका लागि मयन यादव र निरज यादवबाहेक अरू कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
बागमती प्रदेशविरूद्ध शतक बनाएका मयनले नेपाल प्रहरी क्लबविरूद्ध ५९ रन जोडे। १०२ बल सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै निरजले ३४ बलमा २९ रन बनाए। उनले ६ चौका प्रहार गरे। कप्तान हरिशंकरले ९, विशाल पटेलले ६ र अभिषेक तिबारीले १७ रन बनाए। यीबाहेक मधेशका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाल प्रहरी क्लबका लागि गुलशन झाले सर्वाधिक पाँच विकेट लिए। त्यस्तै कुशल भुर्तेलले २ र श्रवण यादव तथा ललित राजवंशीले १–१ विकेट लिए।
१२९ रन पछ्याएको नेपाल प्रहरी क्लबले पहिलो दिनको खेल सकिँदासम्म तीन विकेट गुमाएर १७४ रन बनाएको छ। ओपनिङका लागि कुशल भुर्तेल ६३ र दीलिप नाथ ४० रन बनाएर आउट भए।
गुलशन झा १४ बलमा २० रन बनाएर आउट हुँदा अमित श्रेष्ठ र कप्तान आरिफ शेख नटआउट छन्। अमितले ३४ र आरिफ १३ रन जोडेका छन्।
पहिलो इनिङमा मधेशका लागि कप्तान हरिशंकरले दुई र अभिषेक तिवारीले १ विकेट लिएका छन्। खराब मौसमका कारण बुधबारको खेल निर्धारित समयभन्दा आधा घण्टाअगावै सकिएको थियो।