म्याग्दी- मंगला गाउँपालिका-१ तुसारेपानीमा ८० लाख ६२ हजार रुपैयाँको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ। ६७ लाख ३० हजार रुपैयाँमा मनकामना युवा क्लबले खेलमैदान र १३ लाख ३२ हजार चार सय ६२ रुपैयाँ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन्।
मंगला गाउँपालिका र प्रदेश सरकारबाट ३५ लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले २१ लाख आठ हजार छ सय ५६ रुपैयाँ र १० लाख १७ हजार पाँच सय रुपैयाँ क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताए।
बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ। व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ। आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ।
खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे संक्रान्ति मेलाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ। पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गरेका थिए।
खेलमैदानको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र तुसारेपानी घर भई हाल अष्टे«लिया बस्ने मुक्तिप्रसाद रोकाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए। रासस