काठमाडौँ- फिल्म ‘कोशेढुंगा’ बन्ने भएकाे छ। हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ बनाउन लागेका हुन्।
निर्देशक पौडेलले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन्। पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा बनाउँदै पहाडलाई हेरिरहेकी एक महिला उभिएकी छन्। डाँडामा उभिएकी उनको अगाडी अग्लो रुख र पहाडी शैलीको घर छ।
घुरमैलो कलरले पहाडी भेगका मानिसकाे जीवनशैली, रुखले उनीहरुकाे सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको छ। डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अनुमान गर्न सकिन्छ।
सोसल ड्रामा जनरामा बन्ने संकेत गरेकाे फिल्मकाे कथा र कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन। ‘फिल्म कस्तो हुने, कथा के हो, कलाकार को-को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,’ निर्देशक पौडेलले भने, ‘तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने फिल्म बनाउने प्रयासमा छौँ।’
पाेस्टरमै फिल्म आगामी वर्ष २०८२ मा रिलिज हुनेछ। नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ। फिल्मकाे कार्यकारी निर्मातामा दिनेश खड्का छन्। बाबु श्रेष्ठको डीओपी, सुवलमणि सापकोटाकाे कास्टिङ डिरेक्सन, सुरेन्द्र पौडेलले सम्पादन, रिदम कँडेल र आषिश अविरलको संगीत रहनेछ ।
उनले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउनेमा रेकर्ड राखिसकेको छ। फिल्मले नेपाली बक्सअफिसबाट करिब ५० करोड रुपैयाँ कलेक्सन गरेको टिमकाे दाबी छ।