काठमाडौँ- बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौँ तथा अन्तिम टेस्ट म्याच शुक्रबारदेखि सुरू हुँदैछ।
श्रृंखलाको अन्तिम म्याच भारतीय बलर जसप्रित बुमराहका लागि कीर्तिमान बनाउने हिसाबले महत्वपूर्ण हुने देखिएको छ। यो म्याचमा उनले ६ विकेट लिन सफल भए नयाँ कीर्तिमान बनाउने छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो जानकारी दिएको हो। आईसीसीले सामाजिक सञ्जाल एक्समा लेखेको छ,‘जसप्रित बुमराहले यदि आगामी म्याचमा ६ विकेट लिए, उनी भारतीय क्रिकेट इतिहासमा एक टेस्ट श्रृंखलामा सबैभन्दा बढी विकेट लिने क्रिकेट बन्नेछन्।’
बोर्डर–गावस्कर ट्रफीको यो श्रृंखलामा बुमराहले हालसम्म ३० विकेट लिइसकेका छन्।
उनी सबैभन्दा कम टेस्ट म्याच खेलेर दुई सय विकेट लिने भारतको पहिलो तीब्र गतिका बलर बनेको कीर्तिमान यही श्रृंखलामा बनाएका छन्।
बुमराहले दुई सय विकेट लिएको कीर्तिमान आफ्नो ४४ औँ टेस्ट म्याचमा बनाएका हुन्।
पाँच म्याचको श्रृंखलामा अस्ट्रेलियाले दुई खेल जितेको छ। त्यस्तै भारतले एउटा खेल जित्दा एक म्याच बराबरीमा टुंगिएको छ। श्रृंखलालाई बराबर गर्न पाँचौँ खेल जित्नैपर्ने दबाबमा भारत रहेको छ।