सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयकमाथि महासंघको आपत्ति

हिमाल प्रेस १६ माघ २०८१ १५:५४ | Wednesday, January 29, 2025
सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयकमाथि महासंघको आपत्ति

काठमाडौँ- नेपाल पत्रकार महासंघले सामाजिक सञ्जालको प्रयोग तथा नियमनका लागि सरकारले संघीय संसदमा दर्ता गराएको विधेयकको विरोध गरेको छ।

सरकारले संघीय संसदमा दर्ता गराएको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका’ केही प्रावधानप्रति महासंघले विरोध जनाएको हो।

महासंघका महासचिव रामप्रसाद दाहालले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघको असहमति र आपत्ति रहेको बताएका छन्।

अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले विधेयक ल्याएको दाहालले बुधबार विज्ञप्ति निकालेर भनेका छन्।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

‘…विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्चाएरमात्र विधेयक अगाडि बढाउन महासंघ नेपाल सरकार र संघीय संसदसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुनेतर्फ महासंघले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १६ माघ २०८१ १५:५४ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast