रास्वपाले बहिष्कार गर्‍यो प्रतिनिधिसभा बैठक

हिमाल प्रेस १८ माघ २०८१ १३:४७ | Friday, January 31, 2025
रास्वपाले बहिष्कार गर्‍यो प्रतिनिधिसभा बैठक फाइल तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। बैठकमा आफ्ना सदस्यहरूले बोल्न माग गर्दा समय उपलब्ध नगराएको भन्दै रास्वपाका सांसदहरूले संसद् बैठक बहिष्कार गरेका हुन्।

बोल्न समय नदिएपछि बैठक १५ मिनेटका लागि बहिष्कार भन्दै रास्वपाका सांसदहरू बैठक स्थलबाट बाहिरिएका छन्। यसअघि बैठक सुरु हुनेबत्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका थिए। सभामुखले बोल्न पर्ने विषय धेरै भएकाले दलीय आधारमा कुरा राख्न सकिने भन्दै सांसदहरूले बस्न आदेश दिए पनि रास्वपाका सांसदले विरोध गरिरहेका थिए।

‘हामीले बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पर्याप्त छलफल गरेका छौँ। निर्धारण भएको कार्यसूचीअनुसार दलीय आधारमा सबैले आफ्ना कुरा राख्न पाउनुहुन्छ । तपाईंहरु आफ्नो आसनमा बसेर सभा सञ्चालनका लागि सहयोग गरिदिनुस्’, सभामुख देवराज घिमिरेले भने।  बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहरुलाई बस्न पटकपटक अनुरोध गरेका थिए। पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिए।

सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरुले अटेर गरेका थिए। रास्वपा सांसदहरुले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेका छन् भने सभामुख घिमिरेले सबै दलहरुलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको सोही समयमा आफ्ना कुरा राख्न आग्रह गरेका थिए। सभामुख घिमिरेले  नियमित बैठक र अधिवेशनको सुरुआती बैठकको फरकबारे पनि  ध्यानाकर्षण गराएका थिए।

रास्वपाका सांसदहरूले विरोध गरिरहे पनि सभामुखले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सम्बोधन गरिरहेका छन्। त्यस दलीय आधारमा सांसदहरूले बोल्ने क्रम सुरु हुने जानकारी सभामुख घिमिरेले जानकारी दिए।

प्रकाशित: १८ माघ २०८१ १३:४७ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast