न्यायालयप्रति आभार : रवि लामिछाने

हिमाल प्रेस १३ माघ २०८१ २२:१६ | Sunday, January 26, 2025
न्यायालयप्रति आभार : रवि लामिछाने रुपन्देही जिल्ला अदालत परिसरमा रवि लामिछाने। तस्बिर : हिमालप्रेस

लुम्बिनी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले न्यायालयलाई धन्यवाद दिएका छन्। बुटवलको सुप्रिम सहकारीको बचतकर्ताको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आइतबार १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले आभार व्यक्त गरेका हुन्।

अदालतको आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर बाहिरिँदै गर्दा लामिछानेले भने, ‘मेरो अहिलेलाई भन्नुपर्ने केही छैन, भन्नुपर्ने बेला आउँदा भन्छु। अहिलेलाई न्यायालयप्रति आभार व्यक्त गर्दछु, जति पनि देशविदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद।’

जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई धरौटीमा छाड्न आदेश दिएको हो। ‘मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी लामिछानेलाई मुलुुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम एक करोड नगद धरौटी, जेथा जमानत वा बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू’आदेशमा भनिएको छ।

लामिछानेविरुद्ध नारायणबहादुर पहाराईसमेतको जाहेरीले नेपाल सरकारको वादी र प्रतिवादी लामिछाने भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा नेपाल सरकारबाट पुरक अभियोग पेस भएको थियो। उनी गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक हुन्। उक्त मिडियामा रहँदा सहकारीको रकम दुरुपयोग गरेको अभियोग उनीमाथि लागेको छ।

प्रकाशित: १३ माघ २०८१ २२:१६ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast