कतारका लागि नेपाली राजदूत पौडेलले अमिरसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १३ माघ २०८१ १९:५९ | Sunday, January 26, 2025
कतारका लागि नेपाली राजदूत पौडेलले अमिरसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले आज (आइतबार) कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

सोही क्रममा अमिरी दिवान (राजप्रासाद कार्यालय) मा आयोजित समारोहमा राजदूत पौडेललाई गार्ड अफ अनरले स्वागत गरिएको थियो। ओहोदाको प्रमाणपत्र पेस गरेपछि अमिरसँगको शिष्टाचार भेटका क्रममा राजदूत पौडेलले अमिरको अप्रिल २०२४ मा भएको नेपाल भ्रमणबाट नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। साथै उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र कतारी जनताको उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे।

उनले नेपाल र कतारबीचको घनिष्ठ र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन आपसी सहयोगका विविध क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले खेलेको नेतृत्वदायी भूमिकाप्रति आभार व्यक्त गर्दै राजदूत पौडेलले बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन समेत अनुरोध गरे।

अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतारका लागि नेपालको राजदूत नियुक्त भएकोमा बधाई दिँदै विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिए।

अमिरले मध्यपूर्वमा स्थायी शान्तिको लागि कतार निरन्तर प्रयत्नरत रहने प्रतिबद्धता जाहेर गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: १३ माघ २०८१ १९:५९ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast