 
                             
                                            काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न शुरु गरेको बताएका छन्। राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिए पनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताए। उनले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको बताए।
उनले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए। निरोधात्मक क्षेत्रमा गर्नुपर्ने काम शुरु गर्न नसकेको अवस्था रहेको बताए। मानसिक रोगको समस्याबाट धेरै मानिस ग्रस्त भएका उल्लेख गर्दै भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताए। उनले यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने बताए।
मन्त्री पौडेलले भने, ‘उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ। विरामी हुन नदिने भन्नेबारेमा हामीले ठोस काम गर्न सकेका छैनौँ। यसरी नै विरामी बढ्दै जाने हो भने हामीले उपचार गर्न सक्दैनौँ। निरोधात्मक क्षेत्रमा हामीले जति काम गर्नुपर्ने हो त्यसको शुरुवात पनि गर्न सकेका छैनौँ। यसको उपचारात्मक विधि हामीले अपनाइरहेको सेवासँग जोडिनु हुँदैन। यसको उपचारात्मक विधि योग, आयुर्वेदसँग जोडिनुपर्छ।’
मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बताए। योग उपचारको निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 