शीतवर्षा हुन थालेपछि तराईमा अन्नबालीमा पनि असर

हिमाल प्रेस २६ पुष २०८१ ९:०६ | Friday, January 10, 2025
शीतवर्षा हुन थालेपछि तराईमा अन्नबालीमा पनि असर

जलेश्वर- विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतवर्षा हुन थालेपछि महोत्तरीसहित सम्पूर्ण तराई मधेश कठ्याङ्ग्रिएको छ। चौबीस घण्टा शीतको थोपाको वर्षा र लगातारको पश्चिमी चिसो वायुले तराईका जिल्लामा अहिले दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जन जीवन निक्कै प्रभावित भएको जलेश्वर नगरपालिका-९ बस्ने कामेन्द्र कापरले बताए।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशुपन्छी तथा बालीनाली प्रभावित बन्न थालेको जलेश्वर–७ का किसान वीरेन्द्र शर्माले बताए।

चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोको कारण यातयातका साधन चढ्न छोडेका छन्।

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारमा मानिसहरुको उपस्थिति न्यून भएको छ। चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेको र बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताए।

उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ३/४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताए। चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको संख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन्। साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक वीरेन्द्र चौधरीले बताए।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखा, खोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मी साहले बताउँछन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेकोे देखिन्छ।

यसैबीच जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोमा चिन्तित भएको जलेश्वर–१० का किसान शहदेव मण्डलले बताए।

उनले मसुरो, खेसारी, आलस, रहरलगायतका दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायतका तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताए। जिल्लामा जाडो बढेर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानिय कुनै पनि पालिका वा सरोकारवाला निकायद्वारा हालसम्म कुनै पनि पालिकामा जाडोबाट बच्न/बचाउनका लागि कुनै पनि व्यवस्था नमिलाएको अधिकांश पालिकाका स्थानीयको गुनासो रहेको छ।

प्रकाशित: २६ पुष २०८१ ९:०६ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast