
काठमाडौँ- नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले नै ढिला गर्न खाजेको आरोप लगाएको छ। सिंहदरबारमा शुक्रबार बसेका प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्तासंगको छलफलका क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विधेयकको छलफलका क्रममा सामान्य प्रशासन मन्त्री उपस्थित नहुनुले सरकारले नै उक्त विधेयकलाई ढिला गर्न खोजेको महशुस भएको बताए।
उहाले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक अघि नबढ्दा प्रदेश र स्थानीय सरकारले सहज ढंगले काम गर्न नसकेकाले गम्भीर हुन आग्रह गरे। विधेयकलाई छिटो अघि बढाउनका लागि पटक पटक समितिलाई आग्रह गर्दा कुनै समितिले पनि कुनै ध्यान नै नदिएको उनले बताए।
समितिले शुक्रबार नै संशोधनकर्तासँगको छलफल सम्पन्न गरेको छ। अब बस्ने बैठकमा सरोकारवालासँग छलफल गरेर दफावार छलफल गरिने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।