रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

हिमाल प्रेस ८ पुष २०८१ १७:२१
62
SHARES
रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति तोकेको छ। आज (सोमबार) भर्चुअलरूपमा बसेको सचिवालय बैठकले उनलाई कार्यवाहकको जिम्मेवारी दिएको हो।

सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा प्रक्रिया अघि बढेपछि अर्याललाई कार्यवाहकको जिम्मेवारी दिएको एक नेताले बताए। सहकारी ठगी प्रकरणमा २ कात्तिकमा काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका रविमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।

दुई महिनाबढी चलेको अनुसन्धानपछि प्रहरीले बुझाएको प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले उनीमाथि चारवटा अभियोगमा मुद्दा दायर गरेको छ। रविमाथि सहकारी ठगी ऐन २०७४, संगठित अपराध (निवारण) ऐन २०७०, सम्पत्ति शुद्धीकरण ऐन २०६४ र मुलुकी अपराध संहिता २०७४ को एकीकृत कसुरमा मुद्दा दर्ता भएको हो।

सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दर्ता भएपछि उनको सभापति पद र सांसद पद स्वतः निलम्बनमा परेको छ। यद्यपि सांसद पद निलम्बनको सूचना भने हालसम्म संघीय संसद सचिवालयले निकालेको छैन।

सम्पत्ति शुद्धीकरणसहित चारवटा अभियोगमा रविमाथि मुद्दा दर्ता भइसकेपछि अब रास्वपाको ‘कमाण्ड’ कसले सम्हाल्ला भन्ने धेरैको चासो थियो। नागरिकता प्रकरणमा रविले सभापति पद गुमाउँदा कार्यवाहकको जिम्मेवारी डोलप्रसाद अर्याल (डीपी) ले नै पाएका थिए।

रास्वपाको विधानमा सभापतिको अनुपस्थितिमा उपसभापतिले कार्यवाहक सभापतिको रूपमा काम गर्ने व्यवस्था छ। त्यो बेला अर्याल पार्टीका एक्ला उपसभापति थिए। र, उनले कार्यवाहकको जिम्मेवारी पाए।

दुई महिना बढीदेखि सभापति रवि हिरासतमा रहे पनि रास्वपाले हालसम्म कार्यवाहक तोकेको थिएन। सभापतिको मुद्दालाई हेरेर कार्यवाहक तोक्ने रास्वपाले बताउँदै आएको थियो।

विधानले भने ज्येष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले कार्यवाहकको जिम्मेवारी पाउने व्यवस्था गरेको छ।

रास्वपाको विधानको धारा २४ को ३ (२) (घ) मा कार्यवाहक सभापतिसम्बन्धी व्यवस्था छ। ‘दुई उपसभापतिमध्ये उमेरमा ज्येष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रूपमा कार्य गर्ने,’ यो धारामा उल्लेख छ। उमेरलाई हेर्ने हो भने अर्याल अर्का उपसभापति स्वर्णिम वाग्लेभन्दा तीन महिना कान्छा छन्।

प्रतिनिधिसभाको रेकर्डअनुसार अर्यालको जन्म मिति २०३१/५/६ र वाग्लेको २०३१/०२/१६ छ। जन्मका वर्ष समान रहे पनि महिनाको हिसाबले अर्याल उपसभापति वाग्लेभन्दा ३ महिना कान्छा हुन्। रास्वपाका एक नेताका अनुसार सभापति लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको हो।

प्रकाशित: ८ पुष २०८१ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast