काठमाडौँ- साउदी अरबमा गैरकानुनी रुपमा बसेका १ सय ७ जना नेपालीले बहिर्गमन भिसा (एक्जिट भिसा) पाएका छन्। रयादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसाको प्रक्रिया गरिएकामध्ये पछिल्लोपटक थप १०७ जना फर्किन भिसा पाएका हुन्।
दूतावासले बहिर्गमन भिसा प्राप्त पाएका नेपाली कामदारलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। अवैध रुपमा बसेका विदेशी कामदारलाई आफ्नो देश फर्कन साउदी सरकारले दिएको सुविधाअन्तर्गत दूतावासमार्फत एक्जिट भिसा दिनेको गरेको छ।
एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आउँछ। ती कामदारले त्यही म्यासेज साउदीको अध्यागनमा देखाएर एक्जिट पेपर लिनका लागि दूतावासले जनाएको छ। एक्जिट भिसामा भएको राहदानी, ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी,ट्राभल डकुमेन्ट नम्बर एउटै छ/छैन हरेर यकीन गरेरमात्र हवाई टिकट खरिद गर्न पनि दूतावासले आग्रह गरेको छ।
एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत एक हलाला पनि कंहीँ कतै बुझाउनु नपर्ने दूतावासले प्रस्ट पारेको छ। एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।
एक्जिट भिसा पाएका दूतावासमा फारम भरेका कामदारले आफ्नो एक्जिट भिसाको अवस्थाको बारेमा अनलाइनमार्फत आफ्नो इकामा नम्बर/राहदानी नम्बर प्रविष्ट गरी जानकारी लिन सक्नेसमेत दूतावासको भनाइ छ।