‘जितलै जनकपुर, कोई बोल्तै रे’

धैर्यकान्त दत्त ६ पुष २०८१ २१:४९
40
SHARES
‘जितलै जनकपुर, कोई बोल्तै रे’

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका लागि फ्रेन्चाइजी टिमहरूको घोषणा भएपछि जनकपुर बोल्ट्स विवादमा पर्यो। टिमको आधिकारिक लोगोको विषय उचाल्दै जनकपुर क्षेत्रमै चर्को विरोध भयो।

टिम व्यवस्थापनले जनकपुरको प्रतिनिधित्व देखाउन लोगोमा राखेको जानकी मन्दिरको विम्ब वास्तविक मन्दिरसँग मेल नखाएको भन्दै निकै आलोचना भएको थियो। जनकपुर क्षेत्रका अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लोगोको विषयलाई उचाल्दै जनकपुर बोल्ट्सलाई बहिष्कार गर्ने चेतावनीसमेत दिए।

लोगोको विषय विवादित बनिरहँदासम्म एनपीएल सुरु भइसकेको थिएन। लोगोलाई लिएर भइरहेको विवादबारे जनकपुर बोल्ट्सका व्यवस्थापन पक्षलाई जानकारी नहुने कुरा नै थिएन। यद्यपि यो विषयलाई लिएर टिम व्यवस्थापनले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएन।

लोगोको विषयमा विवाद चलिरहँदै गर्दा जनकपुर बोल्ट्सको व्यवस्थापनले एक्कासि अर्को निर्णय गर्‍यो– टिमको कप्तान परिवर्तन। मार्की खेलाडी आसिफ शेख टिमको कप्तान घोषित भइसक्दा पनि व्यवस्थापनले अर्का वरिष्ठ खेलाडी अनिलकुमार साहलाई नेतृत्वको जिम्मेवारी सुम्पियो।

अरू फ्रेन्चाइजीले मार्की खेलाडीलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिइरहँदा जनकपुर बोल्ट्सले अनिललाई कप्तान बनाउनुपर्ने कारणबारे प्रस्ट पारेन। कतिपयले लोगोको विवादलाई साम्य पार्न आसिफको ठाउँमा अनिललाई कप्तानीको जिम्मेवारी दिइएको आकलन गरे। यद्यपि जनकपुर बोल्ट्स व्यवस्थापनले भने आधिकारिक प्रतिक्रिया दिएन।

संयोग नै मान्नुपर्छ प्रतियोगिताको बीचमै आधिकारिक कप्तान अनिल चोट लागेर खेलबाट बाहिरिए। र, टिमको नेतृत्व गर्ने जिम्मेवारी पुनः आसिफमाथि नै आइपुग्यो। अनिलविना ओपनरको अफाप भोगे पनि बाँकी खेलहमा आसिफको कप्तानी तारिफयोग्य नै रह्यो। अन्ततः शनिबार फाइनल खेलमा प्रतियोगिताकै सबैभन्दा बलियो टोली ठानिएको सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै एनपीएल पहिलो एनपीएलको उपाधि जनकपुरले हात पारेको छ।

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट ट्रफी लिँदै गर्दा अनिल र आसिफ सँगै थिए। आसिफले ड्यास तल रहेका अनिललाई बोलाएर एकसाथ ट्रफी उचालेका थिए।

‘जनकपुर जिततै, कोई बोल्तै रे’

अधिकांश स्थानीय र केही विदेशी खेलाडी सामेल गरेको जनकपुर बोल्ट्स सुरुदेखि नै सन्तुलित टिम देखिएको थियो। ब्याटर, बलर र अलराउन्डरलाई समावेश गरेर बनको यो टिम उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्ने अनुमान क्रिकेटका जानकारहरूले पहिले नै गरिसकेका थिए।

जनकपुर बोल्ट्सजस्तै बरु त्योभन्दा पनि एक कदम अगाडि सुदूरपश्चिम रोयल्स सशक्त देखिएको थियो पूरा प्रतिस्पर्धामा। ब्याटिङ र बलिङ दुवै विधामा सुदूरपश्चिम रोयल्स बलियो र सन्तुलित देखिएको थियो।

लिग चरण र क्वालिफायर राउन्ड गरी जनकपुर बोल्ट्सले एक–एक खेलमा सुदूरपश्चिमसँग हार बेहोर्नुपर्यो। एक खेल उसले चितवन राइनोजसँग गुमायो।

लिग चरणका दुई र क्वालिफायर राउन्डमा एक खेल गुमाए पनि जनकपुर बोल्ट्सले प्रतियोगिताकै पहिलो खेलमा विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेर सुखद संकेत दिइसकेको थियो।

विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेपछि जनकपुर बोल्ट्सका प्रशंसकहरूले भन्न थाले, ‘जनकपुर बोल्ट्स जिततै, कोइ बोल्तै रे?’ अर्थात ‘जनकपुर बोल्ट्सले जित्छ, कसैले केही बोल्छ?’

प्रशंसकहरूले भने र अपेक्षा गरेअनुसार प्रतियोगिताको पहिलो खेल जितेको जनकपुर बोल्ट्सले अन्तिम खेल पनि जितेर इतिहास रचेको छ। फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गरेपछि जनकपुर बोल्ट्सका प्रशसंकहरूले भन्न थालेका छन्–‘जनकपुर बोल्ट्स जितगेलै, कोइ बोल्तै रे?’ अर्थात ‘जनकपुर बोल्ट्सले जित्यो, कसैले बोल्छ र?’

जनकपुर बोल्ट्सले उपाधि उचालेपछि जनकपुरधामसहित मधेशका जिल्लाहरूमा प्रशंसकहरू उत्साहित देखिएका छन्। जनकपुरधाममा उनीहरूले विजय र्‍याली निकालेका छन् भने एकअर्कालाई मिठाई दिएर खुसी साटासाट गरेका छन्।

जनकपुरसहित मधेश प्रदेशमै क्रिकेट सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो। आफूले रुचाएको खेलको उपाधि समर्थन गरिरहेको टिमले जितेपछि प्रशंसकहरूमा छुट्टै खाले रोमाञ्च देखिएको छ।

रोमाञ्चक खेलमा सुदूरपश्चिम पराजित

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल फाइनल खेस सुरू हुनुअगावै दर्शकहरूले भरिभराउ भइसकेको थियो। मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससका प्रशंसकहरू उल्लेख्य संख्यामा पुगेका थिए।

प्रशंसकहरूको चर्को हल्लाले दुवै टिमलाई एकातर्फ उत्साहित बनाइरहेको थियो भने जित्नैपर्ने दबाब पनि सिर्जना गरिरहेको थियो। अन्ततः रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स एनपीएलको उपाधि उचाल्यो।

१२ हजार बढी समर्थकमाझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपीएल उपाधि जित्न सफल भयो।

यो जितसँगै जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग लिग चरण र क्वालिफायर एकमा भोगेका हारको सुखद ‘बदला’ लिन सफल भएको छ। जनकपुर बोल्ट्सका लागि ओपनर लाहिरू मिलान्थाले आक्रामक ब्याटिङ गरेर जोडेको ८७ रन जितका लागि सहज बन्यो।

मिलान्थालाई ओपनिङ गर्न आएका कप्तान आसिफ शेखले पनि राम्रो साथ दिए। १९ बलमा ३३ रन बनाएर आसिफले टिमको जितका लागि राम्रो ‘प्लेटफर्म’ तयार पारे। आसिफ आउट भएपछि ब्याटिङका लागि उत्रिएका मोहम्मद मोहसिन चाँडै ‘डगआउट’ फर्किए पनि हर्ष ठाकरले इनिङ सम्हाल्दै टिमलाई जितको लक्ष्यसम्म पुर्‍याए।
कप्तान आसिफ र टिम व्यवस्थापनको बदलिएको रणनीतिले पनि जनकपुर बोल्ट्सलाई जितको लक्ष्यसम्म पुग्यो।

कर्णाली याक्सविरुद्धको जित र फाइनलसम्मको यात्रा

फाइनलमा पराजित सुदूरपश्चिमले लिग चरणमा सातमध्ये ६ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेर क्वालिफायर खेलेको थियो। उसले चितवन राइनोजविरूद्ध मात्र एक खेल गुमाएको थियो।

जनकपुर बोल्ट्सलाई ५१ रनमै सीमित पारेको सुदूरपश्चिम रोयल्स फाइनल खेल जित्ने धेरैले अनुमान गरेका थिए।

जबकि जनकपुर बोल्ट्सले सुरूको चार खेल लगातार जिते पनि लिग चरण सकिँदासम्म दोस्रो स्थानमा सीमित भएको थियो। क्वालिफायर एकको पराजयसहित जनकपुरले लगातार दुई खेल गुमाउन पुगेको थियो।

क्वालिफायर २ मा कर्णाली याक्सविरूद्ध रोमाञ्चक जित हासिल गरेपछि जनकपुर बोल्ट्सको फाइनलसम्मको यात्रा तय भयो। जनकपुर बोल्ट्सले कर्णाली याक्सविरूद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको थियो।

जनकपुर बोल्ट्सको दह्रिलो ब्याटिङ

सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले सुरूवातदेखि नै आक्रामक ब्याटिङमा उत्रियो। ओपनर ब्याटरहरूले देखाएको ‘इन्टेन्ट’ बाटै जनकपुर बोल्ट्स जितको लक्ष्यसहित मैदानमा उत्रिएको प्रस्ट भइसकेको थियो।

म्याचपछि ओपनर ब्याटर मिलान्थाले खेल जित्नुबाहेक आफूहरूसँग अन्य कुनै विकल्प नभएको बताए। ‘जित्नुबाहेक अरू केही विकल्प हामीसँग थिएन, शान्त मनका साथ ब्याटिङ गर्नुपर्छ भन्ने हामीलाई थाहा थियो,’ उनले भने।

त्यस्तै कप्तान आसिफले पीचलाई हेरेर १८० रनसम्मको लक्ष्य पछ्याउन ज्यादै कठिन नहुने आफूहरूले सुरूमै बुझिसकेको बताए।

‘पीच सहज थियो। हामीले बलिङ गरिरहेकै बेला १८० रनको लक्ष्य पछ्याउन सकिन्छ भन्ने थाहा पाइसकेका थियौँ,’ उनले भने,‘माथिल्लो क्रमका ब्याटरहरूले मजबुत सुरूवात गर्दा लक्ष्य पूरा गर्न सहज भयो।’ एनपीएलको पहिलो संस्करणमा उपाधि जित्न पाउँदा ज्यादै खुसी लागेको उनले बताए।

ब्रान्ड भ्याल्यु कति?

अन्तर्राष्ट्रियस्तरमा नेपाली टोलीले प्रतिस्पर्धा गरिरहँदा एनपीएलको पहिलो संस्करणले नै विश्वको ध्यान तान्न सफल भएको छ। क्रिकेटको लामो इतिहास बोकेको छिमेकी मुलुक भारतसहित वेस्टइन्डिज, अस्ट्रेलियालगायतका मुलुकका दिग्गज खेलाडीहरूले एनपीएलफर्त चासो दिएका छन्।

विश्वकै ध्यान आकर्षित गर्न सफल भएको एनपीएलको ब्रान्ड भ्याल्युबारे पनि बहस सुरू भएको छ। एक अर्ब हाराहारीमा कारोबार भएको अनुमान गरिएको एनपीएलले प्रायोजक र दर्शकको राम्रै साथ पायो।

सन् २००८ बाट सुरू भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट जगतकै सबैभन्दा ठूलो लिग ठानिन्छ। १६ वर्षको अन्तरालमा ६ सय प्रतिशतले बढेर यसको ब्रान्ड भ्याल्यु १० खर्ब भारुभन्दा माथि पुगेको छ।

आईपीएलझैँ ठूलो बजार नभए पनि एनपीएलले कमाएको लोकप्रियता र चर्चालाई हेर्दा आगामी दिनमा यो नेपालको मात्र नभएर, विश्वकै खेल क्षेत्रको ठूला ब्रान्ड बन्ने अनुमान गरिएको छ।

एनपीएलको ब्रान्ड भ्याल्युको वैज्ञानिक अध्ययन हुन बाँकी रहे पनि ब्रान्ड भ्याल्युलाई आवश्यक पर्ने वस्तु जस्तै कारोबार, प्रायोजकको सहयोग तथा प्रशंससको साथ र लोकप्रियतालाई हर्दा यसको ब्रान्ड भ्याल्यु १० अर्ब नजिक पुगेको जानकारहरूको भनाइ छ।

वस्तु वा उत्पादनको प्रतिष्ठा, बजार वा आम मानिसमा त्यसले पारेको प्रभावलाई आधार मानेर निर्धारण हुने मूल्य नै ब्रान्ड भ्याल्यु हो। २१ दिनसम्म चलेको एनपीएलमा क्यानले टिकटबाट ५ करोडभन्दा बढी आम्दानी गरेको छ।

त्यस्तै ८ वटा फ्रेन्चाइज टिमबाट १७ करोड र एनपीउलको कमर्सियल राइटबाट ५ करोड ९२ लाख कमाएको छ। फ्रेन्चाइज टिमले समेत प्रायोजकबाट कमाएका छन्। यद्यपि त्यसको हिसाबकिताब टिमहरूले गरिसकेका छैनन्।

एसोसिएट राष्ट्रले आयोजना गरेको पहिलो फ्रेन्चाइज लिगमा १६ देशका ३२ खेलाडी नेपाल आए। शिखर धवन, जिमी नीशम, मार्टिन गप्टिलजस्ता विश्वस्तरका खेलाडीहरू आउँदा एनपीएलले झनै बढी लोकप्रियता हासिल ग¥यो। यी खेलाडीहरूको उपस्थितिले पनि एनपीएलको ब्रान्ड भ्याल्युलाई बढाइदिएको छ।

प्रकाशित: ६ पुष २०८१ २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast