![शैक्षिक प्रमाणपत्रले मात्रै दक्ष भइँदैन : प्रधानमन्त्री ओली](https://himalpress.com/wp-content/uploads/2024/12/pm-oli-ku.jpg)
काभ्रेपलाञ्चोक- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताए।
‘अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढेका छौँ, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्’ केयूका कुलपतिसमेत रहेका ओलीले भने। उनले विद्यार्थीलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने बताए।
प्रधानमन्त्री ओलीले प्रमाणपत्रले मात्रै दक्ष पनि नहुने भएकाले कस्तो नागरिक हो भन्ने विषय चरित्र र नैतिकताले प्रष्ट्याउने बताए। उनले भने, ‘सर्टिफकेट रोजगारीको एउटा आधार हो, दक्ष नागरिक हुन आचरण, व्यवहार, म्यानर र बोलीचालीले निर्धारण गर्छ।’
कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेकाले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बाए।
उनले भने, ‘दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ।’
समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं केयूको सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेको थियो। आज विश्वविद्यालयका विभिन्न संकाय एक हजार दुई सय ६५ जना विद्यार्थी दीक्षित भएका छन्।