
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ३० औँ महानगर दिवस सांगीतिक कार्यक्रमसहित मनाउने भएको छ। काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गर्दै महानगरले दिवसका अवसरमा नागरिकको सहभागिता र नागरिकसँगै केन्द्रित गर्ने गरी कार्यक्रम तय गरेको जानकारी दिएको हो। प्रवक्ता नवीन मानन्धरले भने, ‘सांस्कृतिक तथा सांगीतिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ।’
दिवसको औपचारिक कार्यक्रम मंसिर २९ गते सैनिक मञ्चमा हुने र सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपराह्न ३ बजेदेखि टुँडिखेल मैदानमा हुने प्रवक्ता मानन्धरले जानकारी दिए। सांगीतिक कार्यक्रममा स्थानीय मौलिक परम्परागत परिकारको प्रवर्धन गर्ने गरी खाना मेलासमेत आयोजना गरिनेछ। त्यस्तै एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने प्रवक्ता मानन्धरले बताए।
दिवस मनाउन महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। १९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो। २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई काठमाडौँ महानगर घोषणा गरिएको थियो। यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ।