
काठमाडौँ- राम केएसीको लेखन तथा निर्देशनमा बनेको नाटक ‘यशस्वी भव:’ आगामी पुस ३ देखि मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित शिल्पशाला कुञ्ज नाटकघरमा मञ्चन हुने निर्देशक केएसीले बताए।
निर्देशकका अनुसार यसअघि नाटक चौथो लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव-२०२४ मा मञ्चन गरिएको थियो।
नाटक पुस ६ गतेसम्म नियमित मञ्चन गर्न लागेको उनले जानकारी दिए। उनका अनुसार नाटकको दैनिक दुई सो मञ्चन हुनेछ। बिहान ११ बजे र दिउँसो साढे १ बजे।
नाटकमा तिन पुस्ताको सम्बन्ध र त्रिआयामलाई देखाउन खोजेको निर्देशक केएसीले बताए। ‘नाटकमा हामीले हजुरबा/आमा, बाआमा र नातिनातिनी गरी पुस्ताको त्रिकोणात्मक सम्बन्धलाई देखाउन खोजेका छौँ।’ उनले भने। अहिलेको पुस्ताले आफ्नो मान मर्यादालाई भुलेर संस्कार र शिक्षाको नाममा बाआमालाई वृद्धाश्रमको मार्ग देखाइरहेको वर्तमान परिवेशलाई नाटकमा समेटेको निर्देशकको दाबी छ।
‘समयले विश्व बन्धुबान्धुत्वको चर्चा/परिचर्चा गरौं भनिरहे पनि हामीले आफ्नो मान मर्यादा भुलिरहेका छौँ। आफ्ना चेतनाका स्रोतहरु आफैँले निसङ्कोच मास्दै छौँ। हामी कर्तव्यच्युत भएका छौँ। सन्तानलाई पनि संस्कार र शिक्षा भन्दा केवल तिनको सर्टिफिकेटमा सर्वोकृष्ट अंकको अपेक्षा गर्छौ। अनि जन्म दिने मातापितालाई निःसङ्कोच वृद्धाश्रमको मार्ग देखाउछौँ।’ उनले भने। बालबालिकाको अभिनयमार्फत यिनै कुरालाई नाटकमा देखाउन खोजेको उनले बताए।
सद्भाव थिएटर नेपालको प्रस्तुति रहेको नाटकका कलाकार बुढानिलकण्ठस्थित पिक प्वाइन्ट एडुकेसन नेटवर्कमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका विद्यार्थी हुन्। नाटकमा रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुँयाल, मञ्जुरी श्रेष्ठ , एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगरको अभिनय छ।