काठमाडौँ- स्पिनर विलियम बोसिस्टोले ६ खेलाडीलाई पेभिलियनको बाटो देखाएपछि नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स सस्तैमा अलआउट भएको छ।मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०३ रनको योगफल तयार पारेको छ।
कर्णालीलाई कम रनमा रोक्न बोसिस्टोले चार ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ६ विकेट लिए। त्यस्तै कप्तान सोमपाल कामी, विपीन शर्मा र युनिस ठकुरीको नाममा समान एक विकेट रह्यो। पोखराका लागि ओपनर दीनेश खरेलले १९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक २६ रनको योगदान गरे। दीनेशका ओपनि पार्टनर आन्द्रेश गौसले २५ र रेमन रिफरले २० रन जोडे। त्यस्तै कप्तान कुशल भुर्तेल र विपीन खत्रीले समान १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पहिलो विकेटका लागि गौस र दीनेशले ४६ रनको साझेदारी गरे। चौथो ओभरको पाँचौं बलमा गौस विपीनको बलमा बोसिस्टोबाट क्याच भए। पेभिलियन फर्किनुअघि गौसले २५ रनको योगदान गरे। पाँच रनपछि पोखराले दीनेशलाई गुमायो। २६ रन बनाएका दीनेश युनिसको बलमा बोल्ड भए।
पोखराले तेस्रो विकेटको रुपमा भुर्तेललाई गुमायो। १० रन बनाएका भुर्तेल बोसिस्टोको बलमा बोसिस्टोबाटै क्याच आउट भए। पाँचौं नम्बरका ब्याटर म्याट क्रिचले खाता नै खोल्न नपाई पेभिलियन फर्किएपछि कर्णालीले चौथो सफलता हासिल गर्यो। यसपालि पनि बोसिस्टो पोखराका लागि खतरा सावित भए। बोसिस्टो यतिमै रोकिएनन्। आफ्नो अर्को ओभरमा थप तीन खेलाडीलाई पेभिलियनको बाटो देखाएर बोसिस्टोले खेलको रुप नै बदलिदिए।
१४औं ओभरको पहिलो बलमा मध्यक्रमका ब्याटर दिलीप नाथ अर्जुन घर्तीको दर्शनीय क्याचको शिकार बन्दा तेस्रो बलमा सातौं नम्बरका ब्याटर माइकल लिस्कलाई बोसिस्टोले बोल्ड गरे। अन्तिम बलमा नारायण जोशी एलबिडब्ल्युको शिकार बन्दै पेभिलियन फर्किए।
आफ्नो चौथो ओभरमा बोसिस्टोले व्यक्तिगत छैटौं विकेट हासिल गरे। १६औं ओभरको पहिलो बलमा रिफर विकेटकिपर चाडविक वाल्टनबाट क्याच भए। अर्को ओभरको दोस्रो बलमा सोमपालले आकाश चन्दलाई एलबिडब्ल्युको शिकार बनाए। तेस्रो बलमा विपीन युनिसबाट रन आउट भए।