
ललितपुर– महालक्ष्मी नगरपालिका–८ स्थित वेस्ट विङ माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमसहित विद्यालयको २४ औंँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पीजीदेखि कक्षा ३ सम्म तथा कक्षा ४ देखि १२ सम्मका लागि छुट्टाछुट्टै सत्र सञ्चालन गरिएका थिए।
सो अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नुका साथै उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो। कार्यक्रममा दुई हजारभन्दा बढी अभिभावकको उपस्थितिमाझ विद्यार्थीले रचनात्मक नृत्य, गीत, प्रहसन, कविता र नाटकमार्फत आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले विद्यालयको चुस्त व्यवस्थापनका कारण शैक्षिक गतिविधिमा अब्बल रहँदै आएकोमा खुसी व्यक्त गरे। उनले महालक्ष्मी नगरपालिका शिक्षाको हब भएको दाबी गर्दै अभिभावकहरुलाई आफ्ना नानीबाबुहरू अध्ययन गर्ने विद्यालयका बारेमा नियमित रुपमा जानकारी लिएर विद्यालयलाई सोहीअनुरुप रचनात्मक सुझाव दिन सकेमा विद्यार्थीलाई अझ बढी सिर्जनात्मक बनाउन सहयोग मिल्ने बताए।
महालक्ष्मी नगरपालिका शिक्षा निर्देशक चिरञ्जीवी पौडेल, नगरपालिका वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ र विद्यायलकी संस्थापक प्रिन्सिपल दलिया दासगुप्ताको पनि उपस्थिति थियो।
२०५७ सालमा स्थापित विद्यालयले प्ले ग्रपदेखि कक्षा १२ सम्मका कक्षा सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा ११ सय ७ जना विद्यार्थी अध्ययरत रहनुका साथै ७८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक बाबुराज महर्जनले बताए।