
काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा (सोमबार भोलि) नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन हुने भएको छ। दर्शकको उत्साहजनक साथ र सहयोग स्वरूप सोमबार विशेष मञ्चन राखिएको नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक केदार श्रेष्ठले जानकारी दिए।
यसअघि निर्माण टिमले नाटकको एक साता सो पनि थपेको थियो। एक दिन विशेष सो गर्दै नाटकको अन्त्य गर्न लागिएको निर्देशक श्रेष्ठले जानकारी दिए। कात्तिक २४ देखि मञ्चन भइरहेको नाटक मंसिर २४ सम्म चल्नेछ।
‘नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’लाई रङ्गप्रेमीको विशाल उत्साहपूर्ण साथका कारण हामीले एक साता मिति थपेका थियौँ। यो अपार साथ कायमै रहेकोले सोमबार एक विशेष र अन्तिम मञ्चन पुनः थप गरेका छौं।’ उनले भने ‘यो यस नाटकको कास्ट र क्रुको लागि थप सहयोगार्थ स्वरुप हुनेछ।’
निर्देशक श्रेष्ठका अनुसार नाटक सोमबार ४ः ३० बजेको सो राखिएको छ। नाटक मानवीय भावना, प्रेम अनि सहअस्तित्वका जटिलतासँग सम्बन्धित छ। जसलाई सन्तानको चाहनामा रहेका एक दम्पतीको आशा, सपना, आकांक्षा, बाधा र दुविधाबीच चल्ने मुटुको धड्कनलाई प्रतिध्वनिको रुपमा प्रस्तुत गरिएको छ। नाटकमा कलाकार मेनुका प्रधान र कार्मको अभिनय छ।