काठमाडौँ- सिरियामा दुई सहर कब्जा गरिसकेका विद्रोहीहरू अब राजधानी दमिश्कतर्फ अगाडि बढेका छन्। राष्ट्रपति बशर अल–असदविरूद्ध विद्रोहीहरूले अभियान थालेका हुन्।
उनीहरूले एलेप्पो र हमा सहरलाई पहिले नै आफ्नो नियन्त्रणमा लिइसकेका छन्। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार विद्रोहीहरू होम्सतर्फ अगाडि बढिरहेका छन्।
विद्रोहीहरूले होम्समाथि कब्जा गरे सिरियाको राजधानी दमिश्कको कतिपय सहरसँग सम्पर्कट विच्छेद हुनसक्ने बताइएको छ।
बिहीबार हमालाई नियन्त्रणमा लिइसकेपछि विद्रोही समूह हयात तहरीर अल–शमका नेता अबु मोहम्मद अल–जवलानीले जितको घोषणा गरेका थिए।
सिरियाका राष्ट्रपति असदले विद्रोहीहरूलाई आतंकवादीको संज्ञा दिएका थिए। ईरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग भएको वार्तामा सिरियाका राष्ट्रपति असदले वर्तमान अवस्थाका लागि अमेरिका र पश्चिमी मुलुकहरूलाई दोषी ठहर गरेका थिए।
अमेरिका र अन्य पश्चिमी मुलुकहरूले यो क्षेत्रको नक्सालाई नयाँ आकार दिन चाहेको उनको भनाइ थियो।