
काठमाडौँ- साउदी सरकारले आफ्नो देशमा अवैधानिक रूपमा बसेका विदेशी कामदारलाई वैधानिक हुने अवसर दिएको छ। साउदीको मिनिस्ट्री अफ ह्युमन रिसोर्स एन्ड सोसल डेभलपमेन्टले अवैध रूपमा बसेका विदेशी कामदारलाई १ डिसेम्बरदेखि २९ जनवरीभित्र वैधानिक हुने मौका दिएको हो।
जनवरी अन्तिमदेखि साउदीमा अवैध कामदार वैधानिक नभए बस्न नपाउने त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। साउदी सरकारले दिएको अवसरको फाइदा लिन साउदीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई आग्रह गरेको छ। साउदीमा ७० देखि ९० हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसेको दूतावासको अनुमान छ।
साउदीमा रोजगारदाता कम्पनीले कम्पनीमा अनुपस्थित रहेको अथवा कम्पनी छाडेर भागेका विदेशी कामदारलाई अनलाइन सिस्टमबाट रिपोर्ट गरिएको हुन्छ। यस्ता विदेशी कामदारलाई साउदी सरकारले अवैधको सूचीमा राख्ने गरेको छ।
अवैध रूपमा बसेका विदेशी कामदारले नयाँ कम्पनीमा काम गर्न किवा सिस्टममा खाता खोली नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका लागि रोजगार सम्झौता गर्न पाउँछन्। यसरी किवामा जोडिएपछि कामदारले १० दिनभित्र नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गर्नुपर्छ। त्यसपछि उनीहरूलाई अवैध सूचीबाट हटाइन्छ।
किवा वेबसाइटमार्फत कामदारले कार्य अनुभवको प्रमाणपत्र प्राप्त गर्न, आफ्नो रोजगार सम्झौता हेरी स्वीकार/अस्वीकार/पुनरवलोकन गर्न, रोजगारी अन्त्य गर्न, नयाँ कम्पनीहरूबाट रोजगारीको अनुरोध प्राप्त गर्नलगायतका धेरै सुविधाहरू राखिएको हुन्छ। किवा रोजगारदाता र कामदारबीच सम्बन्ध स्थापित, नियमित र सञ्चालन गर्न साउदी सरकारद्वारा विकास गरिएको अनलाइन वेबसाइट वा प्लेटफर्म हो।