
काठमाडौँ- देशभरिका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको हकहितको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने नेपाल शिक्षक महासंघ यतिखेर दलीय चेपुवामा परेको छ। नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ र नेकपा एमालेको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) को असमझदारीले आठ महिनादेखि महासंघको पदाधिकारीले पूर्णता नपाएको हो।
महासंघले पूर्णता पाउन नसक्दा शिक्षकको पेसागत विकास, सेवासुविधामा सुधार, तलबवृद्धि, प्रशिक्षण र शिक्षाको गुणस्तर सुधारजस्ता मुद्दा ओझेलमा परेका छन्। महासंघले आठ महिनादेखि महासचिव पाएको छैन। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासचिव काम गर्दै आएका छन्।
महासंघको अघिल्लो नेतृत्वमा कमला तुलाधर थिइन्। उनी अहिले एमालेको कन्द्रीय सदस्य हुन्। तुलाधर अध्यक्ष हुँदा हालका अध्यक्ष सुवेदी महासचिव थिए। सुवेदी नेपाल शिक्षक संघबाट भागबन्डामा अध्यक्ष भएका हुन्। भागबन्डा मिलाउँदा महासचिव पद एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) लाई पर्छ। एनएनटीकै कारण महासंघले महासचिव पाएको छैन।
एनएनटीका अध्यक्ष विष्णुप्रसाद भण्डारी भने आफूहरू महासंघमै भएको बताउन छाड्दैनन्। उनकै कारण सहमति नजुटेको महासंघका अर्का एक पदाधिकारीको आरोप छ। एनएनटीए महासंघको दोस्रो महाधिवेशनबाट रुष्ट छ। एनएनटीएले हालका अध्यक्ष सुवेदीलाई सर्वसम्मत अध्यक्ष स्वीकार पनि गरेको छैन। सुवेदी गत वैशाख ११ र १२ मा काठमाडौँमा भएको महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्ष भएका थिए।
अध्यक्ष भण्डारी भन्छन्, ‘महासंघको दोस्रो महाधिवेशनमा प्रक्रियागत त्रुटि भयो। हामीले सच्याउनुपर्छ भनेका हौँ। त्यसैले सरकारले शिक्षक महासंघलाई मात्र चिन्छ भन्ने होइन। शिक्षक संगठन श्रम ऐनमा दर्ता छ। हामीले ट्रेड युनियन अधिकार पाउनुपर्छ।’
यी दुई संगठनबीच जिल्ला अधिवेशनबाट विवाद सुरु भएको हो। एनएनटीएले ३०/३२ जिल्लामा मात्र सहमतिमा अधिवेशन भएको र बाँकीमा शिक्षक संगठन संलग्न नभई अधिवेशन भएको दाबी गरेको छ।
अध्यक्ष भण्डारी भन्छन्, ‘स्थानीय, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाविधेशन गर्नुपर्नेमा स्थानीय तहमा अधिवेशन नभएको स्थिति छ। उहाँहरू हतार गरेर महाधिवेशनमा जानुभयो। नेपाल राष्ट्रिय शिक्षक संगठनले सबै जिल्लामा अधिवेशन गर्न अनुरोध गरेको थियो। उहाँहरूले हामीलाई बाहिर राखेर महाधिवेशन गर्न चाहनुभयो। यस्तो अवस्थामा हामी महासंघमा जाँदैनौँ भनेका हौँ। हामी महासंघका जाँदै नजाने भन्ने हुँदैन। यसका लागि वार्ताको विकल्प छैन।’
एनएनटीएले गत वैशाख ८ गते पाँचबुँदे पत्र पनि दिएको थियो। अध्यक्ष भण्डारीले भने, ‘उहाँहरूबाट सन्तोषजनक उत्तर आएन। हाम्रा मागमा सहमति गरेर महासंघमा जान्छौँ। यसो भनिरहँदा हामीलाई माइनस गरेर महासंघले काम गर्न सक्दैन। महासचिवले पाउने सिट छोडेर मात्र होइन, त्यसभित्रका कमीकमजोरी नि महसुस गर्नुपर्छ। त्यो भयो भने हामी जान तयार छौँ। २०७८ सालको नवीकरणका आधारमा महासंघको नयाँ नेतृत्व, पदाधिकारी बनेको हुनाले विधिवत् भएन भनेका हौँ।’
२०७८ सालमा शिक्षक पदमा रहेका शिक्षक ७९/८० सालमा अवकाश भइसकेका छन्। ‘उहाँहरू कसरी महासंघको प्रतिनिधि बन्न सक्नुभयो? साथै ०७९ र ०८० मा शिक्षक बन्नुभएका शिक्षक अधिकारबाट वञ्चित हुनुभयो। त्यसकारण यसलाई मिलाऔँ भनेका हौँ। महासंघ वैधानिक भएन भन्नुको कारण यो हो,’ अध्यक्ष भण्डारीले भने।
एनएनटीएका महासचिव हंसबहादुर शाहीले पनि महासंघको वर्तमान कार्यसमितिलाई अवैध भने। उनले महासचिवको मात्र सवाल नभई विधानबमोजिम कार्यसमिति बन्यो कि बनेन, अधिवेशन भयो कि भएन भन्ने मुख्य कुरा भएको बताए।
महासचिव शाहीले महासंघको वर्तमान कार्यसमितिकै कारण सहमतिमा पुग्न नसकिएको बताए। उनले भने, ‘उहाँहरूकै कारण सहमति हुन सकेकाे छैन। हाम्रो कारणले होइन। संवादमार्फत सहमतिमा पुग्छौँ, पुग्नैपर्छ।’ उनले गत वर्ष असोजमा भएको शिक्षक आन्दोलन पनि तुहाइएको आरोप लगाए।
नेपाल शिक्षक महासंघका एक केन्द्रीय सदस्यले भने अब एनएनटीएले भनेजस्तो सबै काम गर्न सम्भव नहुने बताउँछन्। उनी भन्छन्, ‘अब विवाद गरेर काम छैन। महासंघ अगाडि बढिसक्यो। महासंघको विधान अनुसार नै अहिलेको राष्ट्रिय समिति बनाइएको हो। समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी हुनुहुन्छ। उहाँहरूकै संगठनमा किचलो भएका कारण दोष महासंघलाई दिनुभएको छ।’