जनकपुरधाम- रामजानकी विवाहोत्सवअन्तर्गत बुधबार जनकपुरधाममा तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ। राम मन्दिरको प्राङ्गणमा हजारौँको संख्यामा तीर्थालु र स्थानीयवासीको उपस्थितिमा तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
विवाह हुने निश्चित भइसकेपछि बेहुला र बेहुलीका परिवारका सदस्यले गर्ने छिनोफानो विधिलाई मैथिली संस्कृतिमा तिलकोत्सव भनिन्छ। रामजानकी विवाह पञ्चमीको अवसरमा मनाउन लागिएको साताव्यापी कार्यक्रमअन्तर्गत तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
तिलकोत्सव कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले भगवान रामको पिता दशरथ र जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास सीताका पिता जनकको भूमिकामा थिए।
कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, जन्तीका रूपमा भारतको अयोध्याबाट आएका साधुसन्तलगायतको उपस्थिति रहेको थियो।
जनकको भूमिकामा रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्त दासले अयोध्याबाट आएका साधुसन्तलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
त्यस्तै अयोध्याबाट आएका साधुसन्तले जानकी मन्दिर, राम मन्दिरका महन्त, राजनीतिकर्मी, प्रशासनिक र सुरक्षा निकायका प्रमुखलगायतलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
दुवै पक्षले एकअर्कालाई सम्मान गरिसकेपछि जानकी मन्दिरका उत्तराधिकारी महन्त दास र अयोध्याबाट आएका मुख्य अतिथिले अंगालो मारेर अभिनन्दन गरेका थिए। यो परम्परालाई मैथिली संस्कृतिमा ‘सम्धी मिलन’ भन्ने गरिन्छ।
तिलकोत्सव कार्यक्रम चलिरहँदा मिथिला परम्पराअनुसार बेहुला र बेहुलीपक्षबीच हँस्यौली ठट्यौलीसमेत चलेको थियो। बिहेको छिनोफानो भइरहँदा बेहुलीपक्षले बेहुलापक्षसँग ठट्यौली गर्ने परम्परा रहेको छ।
तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट विभिन्न प्रकारका भार (पाहुर) राम मन्दिर पुर्याइएको थियो। बिहेको छिनोफानो गर्न जाँदा बेहुलीपक्षको तर्फबाट कोसेलीस्वरूप पाहुर लग्ने परम्परा रहेको छ। पाहुरमा जानकी मन्दिरको तर्फबाट मिठाई, फलफूल, लत्ताकपडालगायतका सामग्री राम मन्दिर पठाइएको थियो।
जानकी मन्दिरका उत्तराधिकारी महन्त दासको नेतृत्वमा गाजाबाजासहित निस्केको टोली नगर क्षेत्रको परिक्रमा गरी राम मन्दिर पुगेको थियो। पाहुरसहित निस्किएको टोलीमा सुरक्षा निकायका प्रमुख, प्रशासनिक प्रमुख, जनप्रतिनिधि, स्थानीय, समाजसेवी, युवा, महिलाहरूको सहभागिता रहेको थियो।
विवाहपञ्चमीको अवसरमा हरेक वर्ष जनकपुरधामस्थित महावीर युवा कमिटीले तिलकोत्सव कार्यक्रम आयोजना गर्दै आइरहेको छ। हरेक वर्ष जस्तै यसपटक पनि तिलकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको महावीर युवा कमिटीका अध्यक्ष अजय साहले बताए।
उनले तिलकोत्सव कार्यक्रममा अयोध्याबाट आएका साधुसन्तका साथै राजनीतिकर्मी, सुरक्षा निकायका प्रमुख, प्रशासनिक निकायका साथै समाजसेवी, युवा, महिलाहरूको उल्लेख्य सहभागिता रहेको जिकिर गरे।