
लुम्बिनी- लुम्बिनी प्रदेशमा पछिल्लो चार वर्षमा करिब १२ हजार घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार लुम्बिनीका १२ जिल्लामा आर्थिक वर्ष ०७७/०७८ देखि ०८१/०८२ को कात्तिकसम्म ११ हजार ८४८ वटा उजुरी घरेलु हिंसाको उजुरी परेको हो।
उजुरीमध्ये ७ हजार ९८१ घरेलु हिंसाका मुद्दामा प्रहरीले मिलापत्र गराएको छ। यसरी हेर्दा आधाभन्दा बढी घरेलु हिंसा मिलापत्रमा टुंगिएको छ। चलु आर्थिक वर्ष ०८१/०८२ को कात्तिकसम्म ९८६ उजुरी परेकोमा ४९३ मा मिलापत्रमा टुंग्याइएको छ।
यसअघि ०८०/०८१ मा २ हजार ७९६ वटा उजुरी दर्ता भएकोमा १ हजार ८४३ मुद्दा मिलापत्रमा टुंग्याइएको छ। यस्तै ०७९/८० मा २ हजार ८८८ वटा उजुरी दर्ता भएकोमा २ हजार ४६ उजुरीको मिलापत्र गराइएको छ।
यसैगरी ०७८/०७९ मा २ हजार ८६० उजुरीमध्ये १ हजार ९६० मिलापत्र गरिएको प्रहरीको तथ्यांकमा छ। ०७७/०७८ मा २ हजार ३१८ उजुरीमध्ये १ हजार ६३९ उजुरी मिलापत्र गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले बताए। उनका अनुसार नागरिकमा सचेतना वृद्धि भएकाले न्यायका लागि उजुरीको संख्या वृद्धि भएको हो।
‘नागरिक सचेत भएकै कारण हिंसा सहेर बस्दैन, न्यायका लागि उजुरी गर्ने क्रम बढेको हो’, उनले भने, ‘प्रहरीले पनि कारबाहीका लागि पहल गरिरहेको छ।’
यसका साथै पछिल्लो समय जबरजस्ती करणीका घटना डरलाग्दो गरी वृद्धि भइरहेको छ। हरेक वर्ष महिला हिंसाविरुद्धका गतिविधि सञ्चालन भए तापनि महिला हिंसाका घटना बढ्दै गएको छ।
सोमबारदेखि ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। तर लुम्बिनी प्रदेशमा महिलामाथि हुने घरेलु हिंसा (कुटपिट, गाली बेइज्जती) जघन्य अपराध, बहुविबाह, बलात्कारका घटना बढ्दो क्रममा देखिएको छ।
सचेतना र जागरणका कार्यक्रम भइरहे पनि महिलामाथिको हिंसा अमानवीय र क्रूर बन्दै गएको छ।
प्रहरीका अनुसार लुम्बिनीमा पछिल्लो चार वर्ष (०७७ देखि ०८१ कात्तिकसम्म) १ हजार ७५८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। यति मात्रै होइन जघन्य अपराध जबरजस्ती करणी उद्योगमा चार वर्षमा ४४७ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
चालु आर्थिक वर्ष ०८१/०८२ मा जबरजस्ती करणी मुद्दा रुपन्देहीमा सबैभन्दा धेरै २६ वटा दर्ता भएको छ।
यसरी हेर्दा रुपन्देहीलगायत लुम्बिनी प्रदेशमा लैंगिक हिंसाका घटनामा कमी आएको छैन। यसले जबरजस्ती करणीबाट महिला प्रताडित भएको देखिन्छ।
लैंगिक हिंसाविरुद्धको अभियानले महिलामा सचेतना गराएकाले पनि उजुरी परेको महिला अधिकारकर्मी तथा अधिवक्ता हेमा न्यौपानेले बताइन्। ‘विगतमा जस्तो सहेर बस्नुपर्ने बाध्यताबाट महिला मुक्त भएका छन्, पुरुषसँगको निर्भरता पनि हट्दै गयो’, न्यौपानेले भनिन्, ‘यी कारणले पनि हिंसाका उजुरीहरु बढेका हुन्।’ उनले अझै पनि न्यायका लागि महिलाको लडाइँँ भने नसकिएको बताइन्।
‘घरेलु हिंसाका उजुरीहरु मिलापत्रमा टुंग्याउने कुरा सकरात्मक नै हो, तर पीडितले न्यायको अनुभूति गर्नुपर्छ’, उनले भनिन्। त्यसो त पछिल्लो समय स्थानीय तहमा गठन भएको न्यायिक समितिले पनि यस्ता उजुरीको सुनुवाइ गर्ने गरेको छ।
झैझगडा र मनमुटावका कारण परिवारमा देखिएको बेमेललाई समझदारी गरी मिलापत्र गराउने गरिएको रुपन्देही शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बताइन्। ‘सकभर श्रीमान् श्रीमतीका झैझगडा र असमझदारी मिलापत्र गर्ने गरिएको छ। धेरै यातना र हिंसा भएमा अदालतमा पठाउने गरेका छौँ’, उनले भनिन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार पछिल्लो समय यौनजन्य हिंसाका घटनामा न्याय खोज्ने क्रम बढ्दो छ। आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्ती करणी (ज.ज.क.) सम्बन्धी ४३७ मुद्दा दर्ता भएको मध्ये सबैभन्दा धेरै रुपन्देहीमा ८० वटा र सबै भन्दा कम रुकुमपूर्वमा ४ वटा थिए।
जबरजस्ती करणी उद्योगमा १३३, बहुविवाह १३१, बालविवाह १०, बोक्सीको आरोप ८, अवैध गर्भपतन ११, जातीय छुवाछुत ५, अप्राकृतिक मैथुन ९, बालयौन दुरुपयोग २६ गरी ७ सय ७० मुद्दा दर्ता भएका छन् भने घरेलु हिंसाको २ हजार ३१८ उजुरी परेको छ।
यस्तै आ.व.२०७८/०७९ जबरजस्ती करणीसम्बन्धी ३८४ वटा, जबरजस्ती करणी उद्योग १३०, बहुविवाह १६५, बालविवाह ९, बोक्सीको आरोप ७, अवैध गर्भपतन ३, जातीय छुवाछुत ४, अप्राकृतिक मैथुन ६, बालयौन दुरुपयोग ३६ वटा ७४४ मुद्दा दर्ता भएका थिए।
त्यस्तै आर्थिक वर्ष ०७९/०८० मा जबरजस्ती करणीसम्बन्धी ३५८ वटा मुद्दा, जबरजस्ती करणी उद्योग ९०, बहुविवाह १३२, बाल विवाह ८, बोक्सीको आरोप २, अवैध गर्भपतन ३, जातीय छुवाछुत ८, अप्राकृतिक मैथुन ९, बालयौन दुरुपयोग ४५ गरी ६५५ वटा मुद्दा दर्ता भएका छन्।
त्यस्तै आव ०८०/०८१ मा जबरजस्ती करणीसम्बन्धी ४३५ वटा मुद्दा, जबरजस्ती करणी उद्योग ७१, बहुविवाह ११५, बालविवाह २४, बोक्सीको आरोप १, अवैध गर्भपतन ४, जातीय छुवाछुत ३, अप्राकृतिक मैथुन १, बालयौन दुरुपयोग ५९ गरी ७१३ वटा मुद्दा दर्ता भएका थिए।
चालु आव ०८१/०८२ को चार महिनामा जबरजस्ती करणीसम्बन्धी १४४, जबरजस्ती करणी उद्योग २३, बहुविवाह ३१, बालविवाह ८, अवैध गर्भपतन १, अप्राकृतिक मैथुन ४, बाल यौन दुरुपयोग १९ वटा गरी जम्मा २३० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।