रविलाई ‘पुर्पक्षका लागि थुनामा पठाउने कि छुटाउने’ बहस आजदेखि

हिमाल प्रेस ९ पुष २०८१ ७:५५ | Tuesday, December 24, 2024
रविलाई ‘पुर्पक्षका लागि थुनामा पठाउने कि छुटाउने’ बहस आजदेखि फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ। थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन। हिजो उनी संघीय संसदको सांसद पदबाट निलम्बन भएका थिए।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ। पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो। लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ। लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ।

प्रकाशित: ९ पुष २०८१ ७:५५ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast