यी हुन् ओस्कारका लागि सिफारिस भएका १४ नेपाली फिल्म

सुस्मिता बजगाईं ९ पुष २०८१ १२:४४ | Tuesday, December 24, 2024
यी हुन् ओस्कारका लागि सिफारिस भएका १४ नेपाली फिल्म

काठमाडौँ- नेपाली फिल्मले ओस्कार (एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस) अवार्ड जित्न त पाएको छैन। हालसम्म  १४ वटा फिल्म सिफारिस भएका छन्।  विश्वकै प्रतिष्ठित ओस्कारमा नेपाल सहभागी हुन थालेको २५ वर्ष भइसकेको छ। फिल्मकर्मीहरूको ओस्कार जित्ने सपनाचाहिँ पूरा भएको छैन।

नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समितिले सर्वप्रथम ओस्कारका लागि फिल्म माग गर्छ। आवेदन परेकामध्येबाट समितिले एउटालाई ओस्कारका लागि सिफारिस गर्छ। समितिले फिल्मको प्राविधिक पक्ष, कथा प्रस्तुति, पात्रको भावनात्मक विश्लेषण तथा सिर्जनात्मक प्रस्तुतिका आधारमा सिफारिस गर्दै आएको छ।

सर्वप्रथम सन् १९९९ मा ओस्कारमा नेपालबाट ‘हिमालय क्याराभान’ सिफारिस गरेको थियो। उक्त फिल्म छनोटमा परेको थियो। त्यसयता अन्य फिल्म छनोट चरणबाटै बाहिरिएका छन्। कुनकुन फिल्म सिफारिसमा परे त?

शाम्बाला : २०२४

९७ औँ ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट ‘शाम्बाला’ छनोटमा परेको थियो। फिल्मका निर्देशक मीनबहादुर भाम हुन्। फिल्म हिमाली भेगमा प्रचलित बहुपति प्रथामा आधारित छ। पति हराएपछि उनकै खोजीमा हिँडेकी एक महिलाको संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ।  यसअघि बर्लिन फिल्म फेस्टिभलमा ‘शाम्बाला’ छनोट भएकाले पनि फिल्मकर्मीहरुले ओस्कारको छनोटमा पर्न सक्ने अपेक्षा गरेका थिए। अघिल्ला फिल्मले जस्तै यसले पनि उक्त अपेक्षा पूरा गर्न सकेन। निर्देशक भामको यो ओस्कारको दोस्रो यात्रा थियो। यसअघि सन् २०१५ मा ‘कालो पोथी’ ओस्कार अवार्डका लागि सिफारिस गरिएको थियो।

कर्णालीको हिमाली गाउँको बहुपति प्रथामा आधारित फिल्म गत भदौमा हलमा लागेको थियो। फिल्मकी पात्र पेमाले तीन दाजुभाइसँग विवाह गरेकी छन्। उनी गर्भवती भएको थाहा पाएपछि पहिलो पति टासीलाई खोज्न दास्रो पति कर्मसँग जान्छिन्। पति खोज्ने संघर्षको यात्रामा सांसारिक सुखका लागि सुरु भएको पेमाको यात्रा कसरी आत्मज्ञान र मुक्तिको बाटोमा रुपान्तरण हुन्छ भन्ने कथालाई देखाइएको छ।

फिल्ममा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा, निमलिङलगायत कलाकारको अभिनय छ। फिल्मको कथालेखनमा निर्देशक भाम र अविनाशविक्रम शाहले सहकार्य गरेका छन्।

हल्कारा : २०२३

विक्रम सापकोटाको लेखन र निर्देशनमा बनेको फिल्म ‘हल्कारा’ गत वर्ष ओस्कारका लागि सिफारिस गरेको थियो। फिल्म चिठी पुर्‍याउने हुलाकीको कथामा आधारित छ। साथै फिल्ममा हुलाकीको सपना, अन्तरसंघर्ष र वैदेशिक रोजगारीको आयामलाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी छन्। अन्य कलाकार विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्रीलगायतले अभिनय गरेका छन्। फिल्म कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको हो। यो ९६ औँ ओस्कार अवार्डका लागि सिफारिस गरिएको थियो।

ऐना झ्यालको पुतली : २०२२

सुजित बिडारीको डेब्यु निर्देशित फिल्म हो ‘ऐना झ्यालको पुतली’। यो ९५ औँ ओस्कार अवार्डका लागि नेपालबाट सिफरिस गरिएको थियो। फिल्ममा पहाडको विद्यालयमा पढ्ने १३ वर्षीया किशोरीले शिक्षाका लागि गरेको संघर्षको कथा छ। झ्यालमा अड्किएको पुतलीले बाहिरी दुँनिया देखेको हुन्छ तर आफू निस्कन नसक्ने सन्दर्भ दिदीभाइको सम्बन्धमार्फत प्रस्तुत गरिएको छ। फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, मल्लिका श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।

बुलबुल : २०१९

विनोद पौडेलको कथा, पटकथा लेखन र निर्देशनमा बनेको फिल्म हो ‘बुलबुल’। फिल्म टेम्पो चालक महिलाको संघर्षको कथामा आधारित छ। मुख्य भूमिकामा छन् अहिलेका चर्चित अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुसाल। फिल्म २०७५ सालमा प्रदर्शन भएको थियो। फिल्ममा अन्य कलाकार जोयश पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्कीलगायतले अभिनय गरेका छन्।

पञ्चायत : २०१८

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘पञ्चायत’ ९१ औँ ओस्कार अवार्डको लागि सिफारिस गरिएको थियो। फिल्ममा पञ्चायतकालीन नेपाली समाजको परिवेश समेटिएको छ। उक्त समयमा हुने छाउपडी प्रथा, महिललालाई गरिने हिंसा र पात्रको यौन मनोविज्ञानलाई प्रस्तुत गरिएको छ। फिल्ममा सरोज खनाल, रुपा राना, नीता ढुंगाना, गण्नेश गिरी, जानवी बस्नेत, विशाल पहारी, गीता अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

सेतो सूर्य : २०१७

दीपक रौनियारको लेखन तथा निर्देशनमा बनेको फिल्म हो ‘सेतो सूर्य’। फिल्म दसवर्षे जनयुद्धको समयमा आधारित छ। फिल्ममा उक्त समयका मृतकको लास घाटसम्म लैजान आइपरेको उल्झनलाई देखाइएको छ। फिल्ममा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बाँनिया, सुमी मल्ल, अमृत परियारलगायत कलाकारको अभिनय छ। फिल्म ९० औँ ओस्कारका लागि सिफरिस गरिएको थियो।

कालो पोथी : २०१६

मीनबहादुर भाम निर्देशित ‘कालो पोथी’। यो फिल्ममा पनि माओवादी जनयुद्धको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा कालो पोथीलाई प्रतीकात्मक अर्थका रूपमा तत्कालीन समयको जनयुद्दको कथालाई देखाइएको छ।

कर्णालीको खस भाषा प्रयोग गरिएको फिल्म ८९ औैँ ओस्कार अवार्डका लागि सिफारिस गरिएको थियो। फिल्मको कथा निर्देशक भामसहित अभिनाशविक्रम शाह, सन्तोष भट्टराई र कुसाङ राईले लेखेका हुन्। फिल्ममा खड्गराज नेपाली, शुक्रज रोकाय, जितबहादुर मल्ल, बेनिशा हमाल, नन्दप्रसाद खत्री, विपिन कार्की, प्रवीण खतिवडालगायत कलाकारको अभिनय छ।

टलकजंग भर्सेस टुल्के : २०१५

निश्चल बस्नेत निर्देशित फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ८८औँ ओस्कार अवार्डको लागि सिफारिस गरिएको थियो। फिल्ममा गाउँको सीधा युवक टलकजंगले आफ्नो गुमेको पहिचान खोज्न गरेको संघर्षको कथा र उसलाई समाजले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ। फिल्ममा खगेन्द्र लामिछाने, रवीन्द्रसिंह बानियाँ, दयाहाङ राईको मुख्य भूमिका छ। फिल्मको कथा कलाकार खगेन्द्रले लेखेका हुन्।

झोला : २०१४

सती प्रथामा आधारित फिल्म ‘झोला’ पनि ८७ औं ओस्कार अवार्डका लागि सिफारिस गरिएको थियो। फिल्मका निर्देशक यादव भट्टराई हुन्। गरिमा पन्तको मुख्य भूमिका रहेको फिल्मले पतिको मृत्युपछि पत्नी सती जानुपर्ने तत्कालीन समयको पुरुषप्रधान समाजको चित्रण गरेको छ। फिल्म साहित्यकार कृष्ण धरावासीको ‘झोला’ कथामा आधारित छ।

सुनगाभा : डान्स अफ द अर्किड : २०१३

सुवर्णकुमार थापाको निर्देशनमा बनेको फिल्म हो ‘सुनगाभा : डान्स अफ द अर्किड’। फिल्मको कथा समलिंगी महिलाको प्रो कथामा आधारित छ। यसलाई पहिलो एलजीबीटीआईक्यू (लैंगिक तथा यौनिक अल्पसंख्यक) फिल्म पनि भनिन्छ।

फिल्ममा दीया मास्के र निशा अधिकारीको मुख्य अभिनय छ। उनीहरुकै प्रेमकथा फिल्ममा देखाइएको छ। फिल्म सरुभक्तको नाटकमा आधारित छ। यो ८६ औँ ओस्कार अवार्डमा सिफारिस गरिएको थियो।

बसाइँ : २००६

सुवास गजुरेलको निर्देशनमा बनेको फिल्म हो ‘बसाइँ’। यो फिल्म लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ’मा आधारित छ। किसान परिवारको कथा प्रस्तुत गरिएको फिल्ममा पारिवारिक उतारचढावका कारण बसाइँ सर्नुपरेको प्रसंग देखाइएको छ। यो फिल्म ७९औैँ ओस्कार अवार्डका लागि सिफारिस गरिएको थियो। फिल्ममा गणेश उप्रेती, मिथिला शर्मा, रञ्जु लामिछाने, उत्तम प्रधानलगायत कलाकारको अभिनय छ।

मुनामदन : २००३
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘मुनामदन’ पनि ७६ औँ ओस्कारका लािग नेपालले सिफरिस गरेको थियो। यो फिल्म महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्यमा ‘मुनामदन’ आधारित छ।

फिल्ममा मुनामदनको प्रेमपछिको बिछोडको कथा र गरिबीको पीडा समेटिएको छ। धन कमाउन मदन भोट गएपछि उनकी पत्नी मुना र आमाले भोगेको संघर्ष, ल्हासामा मदन बिरामी पर्नु, भोटेले लगेर उपचार गर्नु, सञ्चो भएर घर फर्किँदा आमा र मुनाको मृत्युको वियोगान्त कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा उषा पौडेल मुना पात्रको भूमिकामा छिन् भने दीपक त्रिपाठी मदन बनेका छन्। नीर शाह, विजय लामा, सुभद्रा अधिकारी, सरोज खनाललगायत कलाकारको अभिनय छ। यो फिल्म २०६० सालमा प्रदर्शन भएको थियो।

मुकुण्डो : २०००

छिरिङरितार शेर्पाले निर्देशन गरेको फिल्म हो ‘मुकुण्डो : मास्क अफ डिजाइन’। यो फिल्म नेपालबाट ओस्कारमा सिफरिस हुने दोस्रो फिल्म हो। ७३ औँ ओस्कार अवार्डका लागि सिफरिस गरिएको फिल्म छनोटमा पर्न सकेन।

फिल्मका निर्देशक छिरिङरितार शेर्पा हुन्। फिल्मको कथा एक महिलाको यौन मनोविज्ञानमा आधारित छ। जसलाई माता बनेकी गीत पात्रको मुकुण्डोभित्र दबिएको यौन चाहनाको कथाका रुपमा प्रस्तुत गरिएको छ।

हिमालय क्याराभान : १९९९

अस्कर अवार्डका लागी नेपालबाट पहिलो सिफरिस फिल्म हो ‘हिमालय क्याराभ्यान’। यो फिल्म फ्रान्सेली निर्देशक यरिक भ्यालीले निर्देशन गरेका हुन्। फिल्ममा माथिल्लो डोल्पामा बसोबास गर्ने मानिसहरुको जीवनशैलीलाई देखाइएको छ। डोल्पो/ डोल्पेली भाषमा बनेको फिल्म फिल्ममा थिन्ले लेन्डुप, लाक्पा, छिरिङ,।

१९९९ मा अमेरिकाबाट प्रदर्शन भएको थियो। अस्करको ७२ औँ संस्करणमा फिल्मले बेस्ट फरेन ल्याङ्ग्वेजअन्तर्गत छनोटमा परेको थियो। तर अवार्ड जित्न भने सकेन।

प्रकाशित: ९ पुष २०८१ १२:४४ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast