भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका आरिफ नेपालबाट पक्राउ

हिमाल प्रेस १ पुष २०८१ १८:३० | Monday, December 16, 2024
भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका आरिफ नेपालबाट पक्राउ

काठमाडौँ- महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकमा लुटपाटमा संलग्न गिरोहका एक जना सिरहाबाट पक्राउ परेका छन्।

बैंक लुटपाटमा संलग्नमध्येका भारतीय नागरिक आरिफ हुसेनलाई सिरहा प्रहरीले दशगजा क्षेत्रबाट पक्राउ गरेको हो।

घाइते अवस्थामा भागी नेपालतर्फ आइरहेको गोप्य सूचनाका आधारमा सिरहाका डीएसपी बीरेन्द्रकुमार पासवान नेतृत्वको टोलीले आरिफलाई सिरहा–१७ माडरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

गत वर्ष जेठ १६ गते महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंकमा नकाबधारी हतियारधारी समूहले ३८ लाख नगद लुटपाट गरेको थियो। भारतीय नागरिक आरिफ पनि लुटपाटमा संलग्न रहेको बैंकका प्रबन्धक मलिका ठाकुरले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी दर्ता भएको साढे एक वर्षपछि आरिफ पक्राउ परेका हुन्।

त्यस्तै २०७९ फागुन महिनमा सिरहामा नगद लुटपाटको घटनामा समेत उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

सिरहाको मिर्चैया नगरपालिका–६ स्थित ग्लोबल आईएमई बैंकबाट नौ लाख रकम निकालेर मोटरसाइकलमा जाँदै गरेका प्रहरी जवान नितेश खवास र बैंकका सहायक लेखापाल उपेन्द्र साहलाई कुटपिट गरी आरिफले नगद लुटपाट गरेको प्रहरीले बताएको छ।

उनीमाथि डाँका र संगठित अपराध मुद्दा दर्ता रहेको सिरहा प्रहरीले जनाएको छ। भारत विहारको मधुबनी जिल्लामा हातहतियार, लुटपाटलगायतका मुद्दा दर्ता रहेको आरिफलाई पक्राउ गर्नेलाई २५ हजार पुरस्कार घोषणा गरिएको छ।

प्रकाशित: १ पुष २०८१ १८:३० | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast