रास्वपाले भन्यो : रवि लामिछानेलाई छोड्न ठूला दलले सम्झौता अफर गरिरहेका छन्

हिमाल प्रेस १४ मंसिर २०८१ १६:३६
90
SHARES
रास्वपाले भन्यो : रवि लामिछानेलाई छोड्न ठूला दलले सम्झौता अफर गरिरहेका छन् रास्वपाका कार्यवाहक प्रवक्ता मनिषा झा।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गर्न ठूला दलका नेताहरूले विभिन्न अफर गरेको तर आफूहरूले नमानेको दाबी गरेका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै झाले ठूला भनिएका दलका नेताको अफर नमान्दा आज संघर्ष गरिरहनु परेको बताएका हुन्।

‘हामीलाई सम्झौताको अफर गर्नु भएको थियो। हामी नमानेको हो,’ उनले भने, ‘सम्झौता गर्न नमानेकै कारण आज हामी संघर्ष गर्दैछौँ।’ झाले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङको मुद्दाको फाइल हेरिरहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपी सुवास हमालको सरुवा गरिएको प्रति आपत्ति जनाए।

रास्वपाका सभापति लामिछाने पनि सहकारी बचतकर्ताको बचत रकम अपचलनको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका हुन्। झाले गुरुङलाई चोख्याउन सरकारले अनेक गतिविधि गरिरहेको आरोप पनि लगाए। साथै उनले लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा एक इन्स्पेक्टरको सरुवाको विषयलाई लिएर कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्‌मा प्रश्न उठाएको तर अहिले आफ्नै दलको नेता गृहमन्त्री हुँदा मुद्दा हेरिरहेको प्रहरीलाई समय नपुग्दै सरुवा गर्दा नदेखेझैँ किन गरेको भन्दै प्रश्न पनि गरे।

‘हाम्रो पार्टी सभापति गृहममन्त्री हुँदा आठ महिनामा एकजना इन्स्पेक्टरको सरुवा हुँदा कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्मा सदनमा बुरुक बुरुक उफ्रिनुभएको थियो। कसरी हुन्छ सरुवा भनेर,’ झाले भने, ‘अहिले त तीन महिनामै सरुवा गरिदिनु भयो एउटा केस हेरिरहेको मान्छेको। अब खोइ त कहाँ जानु भयो उहाँ? हामीलाई धेरै ‌औँला उठाउँनेहरूले आज उहाँ सम्बन्धित दलको सरकारले यो सबै प्रक्रिया गरिहेको किन देखिरहनु भएको छैन भन्ने प्रश्न हो।’

त्यस्तै पार्टीले आन्दोलन छोडेको भनेर प्रचार गरिएको प्रति पनि उनले आपत्ति जनाए। उनले जनतालाई दुख नदिने गरी सामाजिक आन्दोलन गरिरहेको उनको भनाइ छ। ‘आन्दोलन भनेको सडकबाट मात्रै होइन। हामीले सन्देशसहित विभिन्न क्षेत्रबाट गरिरहेका छौँ। हामी सामाजिक आन्दोलन गरिरहेका छौँ। टायर बाल्ने, चक्का जाम मात्रै आन्दोलन हैन,’ उनले थपे, ‘आन्दोलन नियमित छ। आन्दोलन प्रारुप फरक छ।’

प्रकाशित: १४ मंसिर २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast