काठमाडौँ- अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको अवैध गतिविधि तुरुन्त रोक्न सहमति जनाएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेखेका छन्, ‘मेक्सिकोका नयाँ राष्ट्रपति क्लाउडिया सिनबाम पार्डोसँग भर्खरै अत्यन्तै फलदायी कुराकानी भयो। उनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने अवैध गतिविधि रोक्न प्रतिबद्धता जनाएकी छन्, जसले हाम्रो दक्षिणी सीमाको सुरक्षा बलियो बनाउनेछ।’ ट्रम्पले अमेरिकामा लागूपदार्थ तस्करी रोक्न गरिने कदमबारे पनि छलफल भएको जानकारी दिए।
ट्रम्पले लेखेका छन्, ‘मेक्सिकोले आफ्ना नागरिकलाई हाम्रो दक्षिणी सीमामा जानबाट रोक्न तत्काल कदम चाल्नेछ। यसले अमेरिकामा हुने अवैध गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’
ट्रम्पले यसअघि २० जनवरीमा पदभार सम्हालेपछि पहिलो निर्णयस्वरूप क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका थिए।