काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले साझा धारणा बनाएपछि संविधान संशोधनका विषयमा अन्य दलसँग छलफल गर्ने बताएका छन्।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानका मूलभूत मान्यताहरू संघीयता र समावेशिता लगायतका विषयलाई यथावत् राखी संविधानका कारण देखिएको गतिरोधहरू सच्याएर अघि बढ्ने र यसका लागि सबै दलहरूसँग छलफल गर्ने बताएका हुन्। प्रत्यक्ष निर्वाचित कार्यकारीका बारेमा अन्य दलहरूसँग छलफल गरेर टुंगो लगाउने उनले बताए।
त्यस्तै थापाले बीआरआई लगायतका विषयहरूबारे उठेको अनावश्यक हल्ला र आशंकाहरूलाई चिरेर प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाइने उल्लेख गरे।
उनले सन् २०१७ मा भएका सहमतिहरू कार्यान्वयन गराउने गरी नेपाली कांग्रेस र एमालेले साझा धारणा बनाएर अघि बढ्ने र मुलुकको हित अनुकूल ऋण वा अनुदान ग्रहण गर्न सकिने स्पष्ट पारे।
त्यस्तै थापाले अहिले नै पार्र्टी सभापतिको निर्वाचनको तयारी गर्नुपर्ने आवश्यकता नभएकाले महाधिवेशन आएपछि यसबारे पार्टी नेता र कार्यकर्ताहरू छलफलबाट निर्र्णय लिइने बताए।