काठमाडौँ- अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः फिल्म र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन्। कुनै समय फिल्ममा धेरै देखिने अभिनेत्री पूजा चन्द, विपना थापा, रेजिना उप्रेती, ऋचा घिमिरेलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे। फिल्मको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि फिल्ममा पुनरागमन गर्न सफल भए।
एक दशकअगाडि फिल्म ‘वरदान’ मा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ मा अभिनय गरिन्। विशेषतः डिजिटल प्रविधिमा फिल्म बन्ने क्रम बढेपछि उनी फिल्मबाट टाढा भएकी थिइन्। उनको आगमनसँगै सुरु भएको पुराना अभिनेत्रीहरूको फिल्ममा पुनरागमनले निरन्तरता पाईरहेको छ।
गत कात्तिक ३० देखि प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा ठूलो पर्दामा फर्किएकी छन्।। उनले केही समय अघिको योजना भए तापनि अवस्था अनुकूल भएपछि फिल्ममा काम गर्ने हौसला प्राप्त भएको बताइन्। ‘पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ। अहिले काममा फर्किएकी छु। यसपटक काम गर्दा पहिलो फिल्म झैँ अनुभव गरेँ। छायांकन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन’, अभिनेत्री थापाले भनिन्, ‘कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौँ, अहिले सहायक भूमिकामा देखिने गरेका छौँ। पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ। अब मैले अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेकी छु।’
त्यस्तै गत मङ्सिर ७ देखि प्रदर्शन भएको फिल्म ‘तेल भिसा’ मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छन्। दर्शक र फिल्मकर्मीले अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई न्याय गरेको प्रतिक्रिया दिएका छन्। यसअर्थ आगामी फिल्ममा पनि उनको भूमिका देख्न सकिने अनुमान लगाइएको छ।
यही फिल्ममार्फत अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छन्। ‘फिल्मकर्मकै कारण विदेश गइयो। त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो। तर पुनः फिल्म कर्ममै फर्किएकी छु। यसलाई अब निरन्तरता दिनेछु’, अभिनेत्री घिमिरेले भनिन्।
अभिनेत्री घिमिरे झैँ पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन्। रासस