इजरायल र लेबनानबीच युद्धलाई अन्त्य गर्ने सहमति गरेका छन्। १३ महिना लामो सीमा द्वन्द्व अन्त्य गर्न अमेरिकी समर्थित प्रस्तावलाई मंगलबार यी देशले स्वीकार गरेका छन्।
योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इसराइलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धबिरामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ।
यद्यपि इसरलाइले मंगलबार नै लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। मंगलबारको बमबारीलाई युद्ध सुरु भएयताकै सबैभन्दा भारी बमबारी भनिएको सिएनएनले उल्लेख गरेको। बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो।
आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ। सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो। इसराइल र हिजबुल्लाहबीचको युद्धको दुई महिनाको अवधिमा लेबननमा हजारौंले ज्यान गुमाएका छन्।
गत असोजको सुरुवातमा इसराइलले लेबननमा पेजर विस्फोट गराएको थियो। हिजबुल्लाहले त्यसको जबाफमा इसराइलमा हवाई आक्रमण गरेको थियो। त्यसयता इसराइली आक्रमणमा परी हिजबुल्लाहका कमाण्डरहरूसमेत मारिएका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबननमा युद्धविरामको पहल गरेका थिए। युद्धबिरामको सहमतिपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति बाइडेनलाई फोन गरी धन्यवाद भनेको सिएनएनको समाचारमा उल्लेख छ।