पर्याकविता

खोलाले पनि बाटो फेर्नु पर्ने रहेछ

हिमाल प्रेस ८ मंसिर २०८१ ७:३४
24
SHARES
खोलाले पनि बाटो फेर्नु पर्ने रहेछ

जब जब आवश्यकता पर्छ
खोलाले सधैँ साथ दिएकै छ
भोका प्यासाहरुको आमा बनेकै छ ।
जब कोही मर्छ, सम्सान पनि,
खोला नै भएको छ
जब कसैको क्रिया हुन्छ,
तब पनि गंगा साक्षी बसेकै छ ।

सुन्दर पवित्र खोला सबैको साथमा हुन्छ
कहिले रोग निवारण त पाप निवारण गर्छ ।
भक्तजनका सम्पुर्ण ब्यथा आत्मसात गर्छ ,
कल–कल बग्दै सजिव–निर्जीवको साक्षी बन्छ ।

पौरखी किसानको सदैव साथ दिन्छ ,
खेतीपातीमा सधैं आफ्नो अंश बाड्छ ,
फिजाउँदै आफ्ना हाँगा,
सबैमा माया र आफ्नोपनको अमृत छर्छ ।
आज घरमा बलेको बत्ती पनि,
उसले दिएको उपहारमा पर्छ ।

भत्काई उसका वासस्थान,
उसकै छातिमा डोजर नाँच्छ
कहिले पुल त कहिले सडक बनाउने भन्दै,
स्वार्र्थी मानिस उसकै चोटमा हाँस्छ ।
जनजन र प्रकृतिका फोहोर,
आफैंमा समाहित गर्छ
कुनै दुख नमानी डोजरले कोतरेको ठाँउमा,
नयाँ बाटो बनाउँछ ।

जसको कोही हुन्न उसलाई पनि,
आफैं भित्र समाएको छ
प्रयोग पछि दुर्गन्धित हुँदा पनि,
चुपचाप सहेकै छ ।
बोल्दैन केही स्वीकार्छ सबथोक,
आफ्नो तन–मनमा
जब रुन्छ दुखी हुँदा,
आँसुको भेलले सबथोक बगाउँछ ।

खोला सबैका साझा हुन्छ
उसको भन्ने कोही हुन्न
पानी, सिँचाइ र बिजुली निशुल्क दिएपनि
खोलाकै ठेक्का लगाउन,
सरकार कहिल्यै दुई नम्बरमा हुन्न ।
होडबाजीको जमाना छ,
पैसाको आगाडि कसैको आत्मीयता छुन्न
आफ्नै अस्थी बगाउने खोलामा,
फोहोर बगाउँदा पनि निर्दयी मान्छेका मन रुन्न ।

त्यसैले खोला बेला बेला उग्र हुँदै रुन्छ
आत्याचार र अपमानित सहँदा सहँदै नयाँ बाटो चुन्छ ।
जीवन दिनेको मूलनै थुन्नेपछि सारा बस्ती घेर्नुपर्ने रहेछ,
खोलाले पनि आफ्नो बाटो फेर्नु पर्ने रहेछ ।

 

प्रकाशित: ८ मंसिर २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast