परराष्ट्र मन्त्रालयबाट सहमति नलिई अयोध्या हिँडे मुख्यमन्त्री सिंह

धैर्यकान्त दत्त २ मंसिर २०८१ २१:३४
28
SHARES
परराष्ट्र मन्त्रालयबाट सहमति नलिई अयोध्या हिँडे मुख्यमन्त्री सिंह

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह संघीय सरकारबाट स्वीकृति नलिई छिमेकी मुलुक भारत गएका छन्।

प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५ ले देशबाहिर जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था रहे पनि मुख्यमन्त्री सिंह सहमति नलिई भारत गएका हुन्।

आगामी मंसिर २१ गते जनकपुरधाममा मनाइने रामजानकी विवाहोत्सवमा जन्तीलाई निमन्त्रणा दिन र तिलकोत्सव समारोहमा सहभागी हुन विश्व हिन्दू परिषद्को नेतृत्वमा २५१ पाहुर लिएर जनकपुरधामका स्थानीय आइतबार अयोध्या प्रस्थान गरेको हो।

विश्व हिन्दू परिषद्को नेतृत्वमा गएको टोलीमा मुख्यमन्त्री सिंह पनि सहभागी भएका हुन्। अयोध्यास्थित राम मन्दिरका पदाधिकारीहरूले निमन्त्रणा नगरे पनि सिंह आफूखुसी त्यसतर्फ गएको बताइएको छ।

तिलकोत्सवका लागि अयोध्या पठाइएको भार (पाहुर) को नेतृत्व विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले गरेका छन्। सिंहले उत्तर प्रदेश सरकारबाट निम्तो पाउन प्रयाससमेत गरेका थिए। तर उत्तर प्रदेश सरकारले यसबारे खासै चासो नदेखाएको बताइएको छ।

परराष्ट्र तथा कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५ को बुँदा ६ मा प्रदेश र स्थानीय तहका कर्मचारी र पदाधिकारीको विदेश भ्रमणसम्बन्धी व्यवस्था छ।

बुँदा ६ को ६.२ ले प्रदेशको कर्मचारी र पदाधिकारीहरूको विदेश भ्रमणसम्बन्धी व्यवस्था गरेको छ। ‘प्रदेशका कर्मचारी र पदाधिकारीहरूको हकमा विदेश भ्रमण गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्नेछ।’

यसमा राजनीतिक भ्रमण, कूटनीतिक भ्रमण, द्विपक्षीय सम्बन्धजस्ता विषयमा हुने विदेश भ्रमणबाहेक छात्रवृत्ति, अध्ययन भ्रमण, अवलोकन भ्रमणजस्ता विकास साझेदारको आयोजनामा सञ्चालन हुने कार्यक्रमहरू अर्थ मन्त्रालयको समेत सहमति लिनुपर्नेछ,’ बुँदा ६.२ मा भनिएको छ।

तर मुख्यमन्त्री सिंह भने परराष्ट्र मन्त्रालयबाट सहमति नलिई भारतको अयोध्या भ्रमणमा गएका छन्। परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले भारतको अयोध्या भ्रमणका लागि मुख्यमन्त्री सिंहले सहमति लिएकोबारे आफूलाई जानकारी नभएको बताइन्।

‘म कार्यक्रमहरूमा व्यस्त छु, उहाँले परराष्ट्र मन्त्रालयबाट सहमति लिएको बारे मलाई जानकारी भएन, यो विषयमा बुझ्नैपर्ला,’ लम्सालले हिमालप्रेससँग भनिन्।

मुख्यमन्त्री सिंहको भारत भ्रमणको विषयमा मन्त्रालयमा कुरा चले पनि सहमति भने नदिइएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ‘उहाँ भारत जान लागेको विषयमा मन्त्रालयमा कुरा उठेको हो, तर सहमति दिइएको जस्तो छैन। सायद प्रधानमन्त्रीलाई मौखिक जानकारी गराएर जानु भएको होला,’ परराष्ट्रका ती अधिकारीले भने।

प्रदेशका मुख्यमन्त्रीले विदेश भ्रमणका लागि परराष्ट्र मन्त्रालयमा सहमति लिनुपूर्व प्रदेश मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ। निर्देशिकाको बुँदा ६.३ मा ‘खण्ड (२) बमोजिम सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्नेछ’ उल्लेख छ।

मुख्यमन्त्री सिंहको भारतको अयोध्या भ्रमणलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले स्वीकृत भने गरेको छ। तीन-चार दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सिंहको भारत भ्रमणलाई स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए। तर परराष्ट्र मन्त्रालयले स्वीकृति दिए नदिएको विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ।

प्रदेश प्रमुखको कार्यालयले पनि मुख्यमन्त्री सिंहको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। मुख्यमन्त्री सिंह भारत भ्रमणमा गएको विषयमा आफूहरूलाई औपचारिक जानकारी नभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

‘मुख्यमन्त्रीज्यू भारत भ्रमणमा जानुभएको विषयमा हामीलाई औपचारिक जानकारी आएको छैन। मुख्यमन्त्री कार्यालयबाट औपचारिक जानकारी प्राप्त भएको छैन,’ प्रदेश प्रमुखका प्रेस सल्लाहकार टिका उप्रेतीले भने,‘नियतवश पक्कै होइन होला, प्राविधिक त्रुटि भएको हुन सक्छ।’

उनले परराष्ट्र मन्त्रालयबाट समेत कुनै जानकारी प्राप्त नभएको बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि मुख्यमन्त्री सिंहले भारत भ्रमणका लागि सहमति लिएकोबारे जानकारी नभएको बताएको छ।

‘मुख्यमन्त्रीले विदेश भ्रमणमा जानुअघि सिद्धान्तः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट सहमति लिनुपर्ने हुन्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने,‘उहाँले सहमतिका लागि पत्र पठाएको विषय मेरो जानकारीमा छैन।’

मुख्यमन्त्री सिंह अयोध्या प्रस्थान गरेपछि प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। आइतबार कार्यवाहकको जिम्मेवारी तोक्दै भौतिकमन्त्री यादवलाई दिइएको पत्रमा उनले आफू काम विशेषले प्रदेशबाहिर जानुपरेको उल्लेख गरेका छन्।

‘म काम विशेषले प्रदेश बाहिर हुने भएकोले फर्कि नआउन्जेलसम्मको लागि तपाईंलाई मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराउँदछु,’ कार्यवाहक तोकेको पत्रमा मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन्।

प्रधानमन्त्री, मुख्यमन्त्री वा स्थानीय तहका पदाधिकारी देशबाहिर जाँदा कार्यवाहक तोक्ने परम्परा छ। मुख्यमन्त्री सिंहले भने कार्यवाहक तोकिएको पत्रमा आफू काम विशेषले प्रदेशबाहिर जानुपर्ने उल्लेख गरेका छन्। प्रदेशबाहिरको अर्थ देशभित्रै अन्य प्रदेशसमेत हुन सक्ने बुझिन्छ।

संघीय सरकारको परराष्ट्र मन्त्रालयबाट अनुमति नै नलिई छिमेकी मुलुक भारत भ्रमणमा जाने मुख्यमन्त्री सिंहको कदम कूटनीतिक मर्यादाविपरीत रहेको कूटनीतिक मामिलाका जानकारहरूले बताएका छन्।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्री सिंह अयोध्या जान लागेको विषय जानकारी भएको बताए। ‘उहाँ (मुख्यमन्त्री) सरकारी मान्छे हुनुहुन्छ, हामीसँग किन सहमति लिनु पर्‍यो र?,’ उनले व्यंग्यात्मक शैलीमा भने, ‘पार्टीको मान्छे भए पनि मुख्यमन्त्री पनि हुनुहुन्छ, कतिपय कुरा हामीलाई थाहा पनि हुँदैन।’ मुख्यमन्त्रीको कामकारबाहीका बारेमा पछि सबैलाई थाहा हुने उनले बताए।

यसअघि परराष्ट्र मन्त्रालयले सहमति नदिएपछि मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमणमा जान पाएका थिएनन्। मधेशी एसोसिएसन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान राउतले २०७५ जेठमा परराष्ट्र मन्त्रालयसँग अनुमति मागेका थिए।

केन्द्र सरकारले अनुमति नदिएपछि उनले जनकपुरबाटै भिडियो कन्फरेन्समार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए। हालसालै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी बिना अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि विवादमा तानिएका थिए।

एमाले नेता अधिकारी प्रदेशमन्त्रीको हैसियतमा कात्तिक १३ गते बिना जानकारी जापान उडेका थिए। बिना सहमति र जानकारी जापान भ्रमणमा गएर विवादमा तानिएपछि उनले पदाबाट राजीनामा दिनुपरेको थियो।

छिमेकी मुलुकबाट मुख्यमन्त्री वा कूटनीतिक निकायका पदाधिकारी नेपाल भ्रमणमा आउँदा सरकारबाट सहमति लिएर आउनुपर्ने व्यवस्था छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भारत सरकारले सहमति नदिँदासम्म नेपाल भ्रमणमा आउन सकेका थिएनन्।

त्यस्तै चीन वा तिब्बतबाट समेत मन्त्री वा उच्चपदस्थ पदाधिकारी नेपाल भ्रमणमा आउँदा सरकारबाट सहमति लिनुपर्ने हुन्छ।

जनकपुरधामबाट सरकारी गाडी चढेर वीरगञ्ज हुँदै अयोध्या गएका मुख्यमन्त्री सिंहलाई नेपाल-भारत सीमा रक्सौलमा भारतीय सीमा सुरक्षाबल (एसएसबी) र स्थानीयवासीले स्वागत गरेका थिए।

रक्सौलसम्म गाडीको अगाडि सिटमा सुरक्षाका लागि खटिएका नेपाली सेना बसेका थिए भने सीमा कटिसकेपछि मुख्यमन्त्री सिंहका भाइ चढेका थिए। उनलाई नेपाल–भारत सीमा रक्सौलसम्म पुर्‍याएर सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली जनकपुर फिर्ता भएको छ।

प्रकाशित: २ मंसिर २०८१ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast