खस्कियो शिक्षक लाइसेन्सको नतिजा, विज्ञ भन्छन् : शिक्षा प्रणालीमै गम्भीर प्रश्न

रमेश दवाडी २८ कार्तिक २०८१ १५:४८
642
SHARES
खस्कियो शिक्षक लाइसेन्सको नतिजा, विज्ञ भन्छन् : शिक्षा प्रणालीमै गम्भीर प्रश्न

काठमाडौँ- शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा निरन्तर खस्किएको छ। अध्यापन अनुमतिपत्रमै कमजोर नतिजा आउँदा शिक्षण पेसामा योग्य र दक्ष जनशक्तिको आकर्षण घट्ने संकेत देखिएको जानकाहरू बताउँछन्। विश्वविद्यालय तहका पाठ्यक्रमअनुसार प्रश्नपत्र निर्माण गर्दा पनि नतिजा कमजोर आउनुलाई चिन्ताका रूपमा लिइएको छ।

शिक्षक सेवा आयोगले कात्तिक १० गते लिएको माध्यमिक विद्यालय (मावि) तहको शिक्षक लाइसेन्स परीक्षाको नतिजा मंगलबार प्रकाशित गर्दा १२ हजार ६९७ परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा ३७ हजार ८०४ परीक्षार्थी सहभागी थिए। सात प्रदेशको नतिजा सार्वजनिक गरेको आयोगले गण्डकी प्रदेशबाट एक हजार १८१ जना उत्तीर्ण भएको जनाएको छ। गण्डकीबाट दुई हजार ६७२ जना परीक्षामा सहभागी थिए।

कोशी प्रदेशबाट दुई हजार १४ हजा उत्तीर्ण भएका छन्। कोशीबाट ६ हजार ९८ जनाले परीक्षा दिएका थिए। आयोगको विवरणअनुसार बागमती प्रदेशबाट दुई हजार ८६७ हजार उत्तीर्ण भएका छन्। बागमतीबाट सात हजार ५९४ जनाले परीक्षा दिएका थिए।

लुम्बिनी प्रदेशबाट दुई हजार २०३ जना उत्तीर्ण भएका छन्। परीक्षामा पाँच हजार ८०० जना सहभागी थिए। कर्णाली प्रदेशबाट एक हजार २५८ जना उत्तीर्ण भएका छन्। कर्णालीबाट तीन हजार ८०९ जना परीक्षामा सहभागी भएका थिए।

मधेश प्रदेशबाट ६ हजार ५०० जनाले परीक्षा दिएकामा एक हजार ५३२ जना मात्र उत्तीर्ण भएका छन्। सुदूरपश्चिम प्रदेशबाट एक हजार ६४२ जना उत्तीर्ण भएका छन्। परीक्षा पाँच हजार ३३१ जनाले परीक्षा दिएका थिए।

बागमती प्रदेशबाट सात हजार ५९४ जनाले परीक्षा दिएका थिए। यो संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो। परीक्षामा पनि बाग्मती प्रदेशबाट परीक्षा दिने परीक्षार्थी उत्तीर्ण भएका आयोगले जारी गरेको नतिजामा उल्लेख छ।

यसअघि आयोगले गत वर्ष लिएको निम्न माध्यमिक (निमा) तहको शिक्षक लाइसेन्स परीक्षामा पनि न्यून संख्यामा परीक्षार्थी उत्तीर्ण भएका थिए। आयोगको प्रदेशगत नतिजाअनुसार कोशीमा २४ हजार ३९ जनाले परीक्षा दिएकामा २ हजार १३० परीक्षार्थी उत्तीर्ण भए। मधेश प्रदेशका २२ हजार ८५५ परीक्षार्थीमध्ये १ हजार ६१४ जना उत्तीर्ण भए।

बागमतीबाट १७ हजार ६५१ जनाले परीक्षा दिएकामा २ हजार २ जना उत्तीर्ण भए। गण्डकी प्रदेशबाट ११ हजार ८९७ जनाले परीक्षा दिएकामा १ हजार १५२ जना परीक्षार्थी उत्तीर्ण भए। त्यस्तै लुम्बिनीबाट २९ हजार २३० जनाले परीक्षा दिएकामा २ हजार ८६३ जना उत्तीर्ण भएका छन् भने कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएकोमा १ हजार ५७४ जना उत्तीर्ण भए। सुदूरपश्चिम प्रदेशबाट २१ हजार १८६ जनाले परीक्षा दिएकामा १ हजार ६७२ जना उत्तीर्ण भए।

यसअघि २०७७ सालमा तीनै तह (माध्यमिक, निम्न माध्यमिक र प्राथमिक) को लाइसेन्स परीक्षा भएको थियो। त्यतिबेला पनि नतिजा कमजोर थियो। अध्यापन अनुमतिपत्र लिएर मूल परीक्षामा सहभागी भएका परीक्षार्थीको नतिजा पनि दयनीय छ।

२०७७ मा मावि तहको नेपाली विषयको परीक्षामा जम्मा १७.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए भने निमावि तहमा ४.२० प्रतिशत मात्र। सामाजिक, विज्ञान, गणित विषयमा १० प्रतिशतभन्दा माथि परीक्षार्थी उत्तीर्ण हुन सकेका थिएनन्। त्यसैगरी प्राथमिक तहमा कुल सहभागीमध्ये ५.८३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए।

शिक्षक सेवा आयोगले २०७८ असोजमा अध्यापन अनुमतिपत्रको पाठ्यक्रम संशोधन गरेको थियो।  आयोगले  त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई लक्ष्य गरेर पाठ्यक्रम लागू गर्दै आएको छ। अन्य विश्वविद्यालयमा पनि शिक्षा विषय पढाइ हुन्छ। सबैलाई समेट्ने खालको पाठ्यक्रम नहुँदा पनि धेरै परीक्षार्थी असफल भएको बुझाइ सरोकारवालाहरूको छ।

आयोगका सूचना अधिकारी (उपसचिव) कृष्णप्रसाद ढुंगाना अब पाठ्यक्रम परिवर्तन गर्नुपर्ने अवस्था आएको औँल्याउँछन्। उनी भन्छन्, ‘हामीले विश्वविद्यालय तहका पाठ्यक्रमअनुसार नै प्रश्नपत्र निर्माण गरेका छौं। तर पनि परीक्षार्थी न्यून उत्तीर्ण भएका छन्। पाठ्यक्रम परिवर्तन गर्नुपर्ने पनि देखियो। के गर्ने भन्ने टुंगो होला। हामी पनि चिन्तित छौं।’

लाइसेन्स परीक्षामा न्यून उत्तीर्ण हुनुको कारणबारे ढुंगानाले केही प्रश्न गरे। उनको प्रश्न छ, ‘हामीले बनाएका प्रश्न गाह्रो भयो कि? पढाइप्रति आकर्षण नभएको देखिएको हो कि?’ ढुंगानाले शिक्षण पेसामै आकर्षण घटिरहेका कारणले पनि लाइसेन्स परीक्षामा कम सहभागी भएको तर्क गरे। उनले भने,‘कक्षा १२ पास गरेपछि विद्यार्थीको आकर्षण विदेशतिर छ। शिक्षण पेसामा त्यो आकर्षण देख्दैनन्। परीक्षा दिऔँ पास भए भइहालिन्छ नभए ठिकै छ भन्ने प्रवृत्तिले पनि नतिजा न्यून देखिएको हो।’

ढुंगानाले राम्रोसँग पढेरै परीक्षा दिएका विद्यार्थी पनि प्रश्नका कारणले अनुत्तीर्ण भएको बताए। वस्तुगत प्रश्नमा ए, बी र सी मध्ये कुनचाहिँ ठीक उत्तर हो भन्नेमा परीक्षार्थी अल्मलिएका छन्। ढुंगानाले भने,‘विद्यार्थीले नपढेका पनि होइनन्। पढेका छन्। वस्तुगत प्रश्नमा ए, बी र सी मध्ये कुन सहि उत्तर हो भन्नेमा अल्मलिदा फेल भएको पाइन्छ।’

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला भने लाइसेन्स परीक्षाको नतिजा लगातार खस्कनुको मुख्य कमजोरी विद्यार्थीको रहे पनि सरकारको अदूरदर्शी नीति जिम्मेवार रहेको टिप्पणी गर्छन्। कोइरालाले लाइसेन्स परीक्षा नतिजाले वर्तमान शिक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जाएको बताउँछन्। नतिजाको सन्देशले मुलुकको शैक्षिक स्तर घटेको प्रस्ट भएको उनको भनाइ छ।

‘अहिले जुन ढंगबाट हाम्रा विश्वविद्यालयमा पढाएर पास गर्न थालियो। मूल्यांकनको चिन्तन हाल्यौँ, लेटर ग्रेडिङ हाल्यौँ अथवा हाम्रा विद्यार्थीलाई शिक्षकले कक्षा पास गर्न ‘नगर त’ भनेर धम्क्याउन थाले ती सबैको परिणाम शैक्षिकस्तर घटेछ भन्ने सन्देश हो,’ कोइराला भन्छन्।

यस्तो छ मावि तहको अध्यापन अनुमतिपत्रको नतिजा

प्रकाशित: २८ कार्तिक २०८१ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast