कोरियन भाषा परीक्षामा १० प्रतिशत मात्रै सफल

हिमाल प्रेस २५ कार्तिक २०८१ १३:५०
30
SHARES
कोरियन भाषा परीक्षामा  १० प्रतिशत मात्रै सफल

काठमाडौँ- वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले लिएको कोरियन भाषा परीक्षामा सहभागीमध्ये १० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। सन् २०२४ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार पठाउन सञ्चालन गरिएको भाषा परीक्षामा ९० प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

उत्पादनमूलक क्षेत्रका लागि एक लाख २५ हजारले भाषा परीक्षा दिएका थिए। जसमध्ये १३ हजार ९०४ जना उत्तीर्ण भएका छन्। २०२४ का लागि १० प्रतिशतमात्रै परीक्षार्थीले कोरियन भाषा छनोटमा परेको ईपीएस कोरिया शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिइन्। उनका अनुसार २०२४ मा कोरियाले नेपाललाई दिएको कोटाभन्दा १० गुणा बढीले भाषा परीक्षाका लागि आवेदन दिए पनि ९० प्रतिशत छनोटमा भएनन्।

कोरियन भाषा परीक्षा कम्प्युटरबाट दिनुपर्ने भएका कारण धेरै परीक्षार्थी असफल भएको उनको अनुमान छ। ‘भाषा परीक्षामा किन धेरै संख्यामा असफल भइरहेका छन् भनेर कोरियाको एचआरडीसँग छलफल भइरहेको छ’, उनले भनिन्।

ठूलो संख्यामा आवेदन परेका कारण ईपीएस शाखाले वर्षभरि लगाएर तीन चरणमा परीक्षा सञ्चालन गरेको थियो। जनवरी २० देखि सञ्चालन भएको पहिलो चरणको परीक्षामा सहभागी ४८ हजारमध्ये पाँच हजार ७ सय ५३ जनामात्रै उत्तीर्ण भएको शाखाको तथ्यांकमा छ।

जुलाई अन्तिममा भएको दोस्रो चरणको परीक्षामा ७९ हजारमध्ये आठ हजार १ सय ५१ जनामात्रै उत्तीर्ण भएका थिए। तेस्रो चरणको परीक्षामा ३६ हजार सहभागी छन्।

२०२४ मा कोरियाले उत्पादनमूलक क्षेत्रमा १५ हजारको कोटा छुट्याएको थियो। यस वर्षका लागि पछि कोरिया कोटा थपेर १६ हजार ४ सय पुर्‍याएको शाखाले जनाएको छ।

ईपीएस शाखाले आगामी वर्षदेखि वर्षमा एकपटक मात्र भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। कोरियाले आगामी वर्षदेखि भाषा परीक्षामा तोकिएको कोटाभन्दा तीन गुणाले मात्र आवेदन दिन पाउने विषयमा औपचारिक जानकारी गराइसकेको शाखाले जनाएको छ।

गत वर्ष ईपीएस प्रणालीमार्फत १९ हजार २ सय १४ जना नेपाली कामदार रोजगारीका लागि कोरिया पुगेका थिए। २०२२ मा १४ हजार इपीएसमार्फत छनोट भई कोरिया गएको शाखाले जनाएको छ। कोरियाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका साथै सिप बिल्डिङ, रुट इन्डस्ट्री, फरेस्ट्री र सेवामूलक क्षेत्रमा नेपाली कामदार लगिरहेको छ।

कोरियाले पछिल्ला समय सबैभन्दा धेरै कामदार नेपालबाट लगिरहेको छ। ईपीएस प्रणालीबाट नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, म्यान्मारलगायत १६ देशबाट कामदार लैजाने गरेको छ।

कोरियाले सन् २०२४ का लागि सबै मुलुकबाट एक लाख ६५ हजार कामदार आपूर्ति गर्नेगरी कोटा निर्धारण गरेको थियो। आगामी वर्ष कोरियाले एक लाख ८० हजार विदेशी कामदार भित्राउने भएको छ। कोरियन भाषामा सबैभन्दा बढी अंक ल्याउने परीक्षार्थीमध्ये एचआरडी कोरियाले आवश्यक कामदारमात्रै छनोट गरेर लैजाने गरेको छ। कोरोना महामारीपछि कोरियन भाषा उत्तीर्ण परीक्षार्थी प्राय: कोरिया गइरहेको शाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast