अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौडमा टिमतर्फ नेपालको वर्चस्व, एकलतर्फ चिनियाँ धावक विजयी

विजय नेपाल २४ कार्तिक २०८१ १९:४०
38
SHARES
अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौडमा टिमतर्फ नेपालको वर्चस्व, एकलतर्फ चिनियाँ धावक विजयी

पोखरा- पोखरामा शनिबार तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ सम्पन्न भएको छ। विभिन्न ४ इभेन्टमा भएको प्रतियोगितामा नेपाल र चीनका धावक गरी कुल १२ सय जनाले भाग लिएका थिए। फेवाताल किनार बाराहीघाटबाट टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन विधामा दौड भएको आयोजक हिमालयन टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले बताए।

उनका अनुसार टिम समूह दौडमा नेपाली टिमले वर्चश्व छ। सुशीलकुमार शाही, सिर्जना पाण्डे, श्रीकाशी रावलको टिम प्रथम भयो। उक्त टिमले निर्धारित दुरी ४ घण्टा २० मिनेट ४ सेकेन्डमा दौड पूरा गरेको हो। ५० किमिको टिम समूहमा दुरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्थ्यो। नेपाली १७ र चिनियाँ ४ गरी २१ वटा टिम दर्ता भएका थिए। प्रत्येक टिममा एक महिलासहित ३ जनाको दरले ६३ जना खेलाडीले भाग लिएका थिए।

नेपाल आर्मीको करन रावल, नरेन्द्रसिंह रावत र निर्मला राई सम्मिलित टिम दोस्रो भयो। उसले निर्धारित दुरी ४ घण्टा २२ मिनेट २९ सेकेन्डमा पूरा गरेको हो। तेस्रो एपीएफको टिम भयो। लक्ष्मण मल्ल, निरोज भट्ट क्षत्री र पुष्प भण्डारीको टिमले ४ घण्टा २३ मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पूरा गरेको हो।

एकल महिलातर्फ प्रथम चिनियाँ धावक जेङ वेन रोङ।

कोशी प्रदेशको विशाल राई, रमेश लिम्बू र इन्द्रकला नेम्बाङ सहभागी टिम चौथो र नेपाल आर्मीको खड्गबहादुर खड्का, राजन रोकाया र पूर्णलक्ष्मी न्यौपानेको टिम पाँचौँ भयो। ५० किमिको च्यालेन्ज इन्डिभिजुअल पुरुषमा चिनियाँ याङ जिनल्यान प्रथम भए। उनले निर्धारित दुरी ३ घण्टा ४४ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन्।

नेपाल आर्मीका कुलबहादुर बस्नेतले उक्त दुरी ३ घण्टा ४८ मिनेट २ सेकेन्ड लगाउँदै दोस्रोमा सीमित भए। नेपाल आर्मीकै होमलाल श्रेष्ठ तेस्रो, गोपाल तामाङ चौथो र तिलक सुनुवार पाँचौँ भए। त्यस्तै क्रमशः आर्मीका गोविन्द कार्की, एपीएफका राजेन्द्र तामाङ, कर्णाली क्लबका दलबहादुर कुँवर, आर्मीका गजेन्द्र राई र सुवास कार्की अन्तिम १० भित्र परे।

५० किमिको च्यालेन्ज इन्डिभिजुअल महिलामा चिनियाँ धावक जेङ वेन रोङ च्याम्पियन भइन्। उनले निर्धारित दुरी ४ घण्टा १४ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन्। नेपालकी कल्पना बुढा दोस्रो भइन्। उनले ४ घण्टा ५० मिनेटमा उक्त दुरी पूरा गरिन्।

नेपाल पुलिसका राममाया बुढार लाक्पा निङ्मा शेर्पा क्रमशः तेस्रो र चौथो भए। क्रमशः मिनु बढुवा, छोकी शेर्पा, नीतु तामाङ, आश्मा विक, यू योई क्वी (चिनियाँ), ज्ञानु चौधरी अन्तिम १० भित्र परे। संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले उक्त दौडको संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

एकल पुरुषमा प्रथम याङ जिनल्यान।

च्यालेन्ज इन्डिभिजुअलमा १ सय जना नेपाली र ५२ जना चिनियाँ खेलाडीले भाग लिएका थिए। विद्यार्थी दौड ५ किमि र ह्याप्पी रन २ किमिको दुरीको थियो। ह्ययाप्पी रनमा प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अन्य अतिथिको समेत दौडिँदा वातावरण गुलजार बनेको थियो। विजेतालाई शनिबार साँझ आयोजित समारोहमा पुरस्कार वितरण गरिएको छ।

यसैबीच शुक्रबार बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी फोटो प्रदर्शनी भएको हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले बताए। दौडका लागि बिहीबार १ सय ३४ सदस्यीय चिनियाँ टोली लिएर चीनको कुनमिङबाट सिचुवान एयरलायन्सको न्यारोबडी एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

प्रकाशित: २४ कार्तिक २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast