कांग्रेससँग सम्बन्ध नबिगारौँ, छिमेकीसँग आफैँ सुध्रिन्छ: प्रधानमन्त्री ओली

हिमाल प्रेस २४ कार्तिक २०८१ १९:५७
180
SHARES
कांग्रेससँग सम्बन्ध नबिगारौँ, छिमेकीसँग आफैँ सुध्रिन्छ: प्रधानमन्त्री ओली प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार ललितपुरको च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा सम्बोधन गर्दै। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफू नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रियस्तरबाट पनि सकारात्मक प्रतिक्रिया आउन थालेको जानकारी दिएका छन्। नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकमा ओलीले अन्तर्राष्ट्रिय सम्बन्धभन्दा पनि सत्ता टिकाउन कांग्रेससँग विश्वास नतोडिनुपर्ने बताएका हुन्। सरकार राम्रोसँग अघि बढे अन्तर्राष्ट्रिय समुदाय यसै सरकार अनुकूल हुँदै जाने उनको धारणा थियो।

‘बजारमा छिमेकीसँग यो सरकारकाे सम्बन्ध बिग्रिएको हल्ला चलाइएकाे छ, त्यस्तो होइन। यस्तो हल्लाको पछि नलाग्न म सबैलाई अनुरोध गर्छु,’ सचिवालयका एक सदस्यले ओलीलाई उद्धृत गर्दै भने, ‘कतिपयले भारतको निम्ता नआएर चीन जान लागेकाे पनि भनेका छन्, त्यो अवस्था होइन। भारतसँग त्यस्तो सम्बन्ध बिग्रिएको छैन।’

पछिल्लो समय ओलीसँग भारतको सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको छ। उनलाई भारतबाट भ्रमणको निम्तो नआएको र चीन भ्रमणमा जान लागेको टिप्पणी भइरहेको छ। तर ओलीले भने भारतसँग त्यो हदसम्मको सम्बन्ध नबिग्रिएको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले आगामी १७ मंसिरदेखि हुने चारदिने चीन भ्रमणबारे पनि संक्षेपमा जानकारी गराएका थिए।

उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार यो भ्रमणमा चीनसँग यसअघि भएका सम्झौता कार्यान्वयनमै जोड दिइनेछ। ‘यसपटक छोटो भ्रमण हुन्छ। चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका समझदारी र हाम्रा राष्ट्रपति/प्रधानमन्त्रीहरूले गरेको भ्रमणमा भएको समझदारी कार्यान्वयनमा जोड दिइनेछ’, बैठकपछि ज्ञवालीले भने।

बैठकमा ओलीले आफ्नो पहिलो भ्रमण चीनबाट हुँदा अर्को छिमेकी भारतसँग सम्बन्ध ठीक नरहेको बुझ्न नहुने तर्क गरेका थिए। ओलीले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै अमेरिकासँग सम्बन्ध झनै बलियो हुने दाबी गरेका थिए। उनले यसबेला छिमेकीमाथि शत्रुता साध्ने बेला नभएको बताएका थिए। उनले आफूले सकारात्मक सोचे सबै सकारात्मक हुने बताउँदै भारतसँग नेपालको परम्परागत सम्बन्ध नै रहेकाे दाबी गरेको सदस्यहरूले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast