‘हिमालको अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता लाग्छ’

हिमाल प्रेस २३ कार्तिक २०८१ १५:४४
22
SHARES
‘हिमालको अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता लाग्छ’

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस्।

रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरूको मनमनमा गुञ्जिरहन्छ सदावहार। गीतले भनेको जस्तै सधैँभरि हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ। विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको असरले हाम्रा यी सेता हिमालहरू कतै कलापत्थरमा त परिणत हुने होइन ? हाम्रा भावी पुस्ताका लागि हिमाल थियो रे अनि हिमाल सेतै हुन्थे रे भन्ने एकादेशको कथाजस्तो त हुने होइन ? यी र यस्ता प्रश्नहरूले गीतले भने जस्तै बिहान उठेर हिमाल हेर्न सधैँ नपाइएला कि भन्ने चिन्ता पनि छ।

हिमालकै कारण त हो नि नेपाली भूभाग साँच्चै प्रकृतिको बेजोड सङ्गम बनाएको। यहाँका हिमालदेखि तालतलैयाले लगाएको मोहनीले त हो नि पर्या–पर्यटकहरूको नेपाल आकर्षणको मुख्य गन्तव्य बन्न सफल भएको। यसैको अस्तित्व जलवायु परिवर्तनको असरले समाप्त गरेमाको पर्यटक आऊला नेपाल ? अनि कस्तो देखिएला नेपाल ? हिमालको महत्त्व अपार भएर नै होला कवि तथा गीतकारहरूले हिमालको महिमा बोकेको रचनाहरू रचेका।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हीराको
माटो र पानी पहिलो धन धर्तीका छोराको।

स्व. माधवप्रसाद घिमिरेको यो कविताको हरफहरूले पनि हिमालको महत्त्वको महिमा प्रस्तुत गरेको छ। उनले शायद हिमाल नै नरहला कि भन्ने चिन्ताले पनि होला, हिमाल रहेन भने नेपाल र नेपालीको नै अस्तित्व छैन भन्ने सन्देश कवितामार्फत दिएका छन्।

नेपालीको मनमा अखण्डित रूपमा स्वदेश वा विदेश जहाँ बसेका भए पनि हिमाल बसेकै हुन्छ। हिमालको अस्तित्व कसरी जोगिएला भन्ने चिन्ता उत्तिकै छ। विश्व समुदायसामु पनि हामीले हाम्रो हिमाल जोगाउनुपर्छ भनेर गुहार माग्दै आइरहेका छौँ। ती धनी र विकसित मुलुकहरूमा भएको औद्योगिक विकासका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेर जलवायु परिवर्तनको असर विश्वभर निम्त्याएको छ। हामीले गर्दै नगरेको गल्तीको सजाय हामीले भोग्नुपर्ने ? अब हाम्रो हिमाल जोगाउने जिम्मा तिमीहरूको हो भनेर नेपालले विश्व समुदायसामु आवाजहरू बुलन्द रूपमा उठाउँदै आइरहेको छ।

हिमाललाई नजिकबाट नियाल्दै आएकाहरू पनि हिमालमा हिउँ घटेर कतै हिमालको अस्थित्व नै नाश हुने हो कि भनेर उत्तिकै चिन्तत छन्। सोलुखुम्बु जुनुबेंसीमा जन्मिएकी ङिमी शेर्पा पहिलो महिला पर्वतारोहीका रूपमा परिचित छिन्। शेर्पाले २०४२ सालमा बिनाअक्सिजन माउन्ट नुप्से (७८६५ मिटर) आरोहणपछि पहिलो पर्वतारोहीको रूपमा इतिहास बनाएकी हुन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरलाई उनले नजिकबाटै साक्षात्कार गरेकी छन्।

‘जलवायु परिवर्तनको असरका कारण हिमालमा हिउँ नै बाँकी नरहला कि भन्ने चिन्ता लाग्छ, हिमाली क्षेत्रका मानिसहरूमा पर्ने असरले हिमाली क्षेत्रमा नै मानिस नहुने हो कि चिन्ता छ,’ उनले भनिन्, ‘हिमालका लागि हिउँ शृङ्गार हो, जलवायु परिवर्तनको असरले हिमालमा हिउँ नै नरहे हिमालको मात्रै के अस्तित्व।’

पर्यटन व्यवसायीसमेत रहेका आङ्छिरिङ शेर्पा उमेरले ७० नाघे। लामो समय हिमालकै काखमा हुर्किएर खेलेकाले पनि त्यो हिमाल र यो हिमालका बारेमा जानकार छन् उनी। ‘हामी सानो छँदा त हिमाल सबै सेता थिए, अब हेर्दाहेर्दै हिमालमा हिउँ पातलियो। कालापत्थरहरू देखिन थाले,’ उनले भने, ‘यस्तै हो भने त अबको २० वर्षमै हिमालको अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता लाग्छ। अनि हिमाल हेर्न भनेर पर्यटक आउन छाड्लान्, हाम्रो व्यवसाय पनि धरापमा पर्नेछ।’

सोलुखुम्बुमा जन्मिएका शेर्पा जलवायु परिवर्तनका हिमालमा परेको असरले कुन बेला ठूलो विपद्को सामना गर्नुपर्ने हो उत्तिकै चिन्तित छन्। पहिला र अहिलेमा देखिएको फरकमा अन्तर पाउँछन् उनी। भन्छन्, ‘भन्दा मान्छेले नपत्याऊलान्, त्यो इम्जा छो हिमताल थिएन। सानो हिमनदी थियो। त्यहाँ त बच्चा हुँदा हामी चिप्लेटी खेल्थ्यौँ। सन् १९६२ तिर सानो कुवाजस्तो बन्यो। अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिउँ पग्लिएर। यस्तै पग्लिँदै जाने हो भने हिमाल त कति कुरूप देखिन्छ होला है !’

जलवायु परिवर्तनका असरका कारण पर्वतीय क्षेत्र जोखिममा रहेको भन्दै शेर्पाले अब हिमाली क्षेत्रका मानिस बसाई सरेर जानुपर्ने अवस्था आइसकेको बताए। ‘यदि हिमाली क्षेत्रका मानिसहरू नै त्यहाँ भएनन् भने हिमालको रहनसहन, संस्कृति हेर्नचाहिँ को आऊला ?’ शेर्पा भन्छन्।

फोटो पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ अहिले साहसी पर्वतारोहीको रूपमा आफ्नो पहिचान स्थापित गरिसकेकी छन्। गोरखा आरुघाटमा जन्मिएकी श्रेष्ठलाई सानोमा टाढाबाटै हिमाल हेर्दा हिमालले लोभ्याएको थियो। हिमालकै नजिक जान पाए कस्तो हुन्थ्यो होला ? भन्ने लाग्थ्यो पूर्णिमालाई। जहाँ इच्छा तहाँ उपाय भने झैँ उहाँले विश्वकै अग्लो पर्वत सगरमाथा पटकपटक चढिसकिन्।

हिमालको अस्तित्व मेटिने चिन्ता

जलवायु परिवर्तनका कारण मनै लोभ्याउने हिमालहरूको अस्तित्व मेटिएर त जाने होइन ? भन्ने चिन्ता उत्तिकै छ उनलाई। ‘हिमाल अझै चढिरहन मन छ, तर हिमपहिरोले कतै पुरिने पो हो कि डर पनि छ,’ श्रेष्ठ भन्छिन्, ‘हिमालका हिउँ हराएर गयो भने के होला भन्ने लाग्छ। हिमाल जाँदा अहिले पनि कलापत्थरहरू देखिन्छन्। अनि हिमाल चढ्नेहरूलाई जोखिम पनि छ।’

जलवायु व्यवस्थापनका लागि प्रतिकार्य रणनीति २०८० अनुसार जलवायुजन्य र जलसम्बन्धी प्रकापहरूले जिउज्यान, धनमाल र सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएका छन। वायुमण्डलीय तापक्रमका वृद्धिले हिउँ पग्लिने क्रम बढेको छ र नयाँ हिमताल बनेको रणनीतिमा उल्लेख छ।

‘विद्यमान हिमतालका आकार बढेका छन्। यसबाट हिमताल फुटी बाढी आउने खतरा थपिएको छ। अन्य क्षेत्रका तुलनामा हिमालय क्षेत्रमा कम्तीमा पनि ०.३ दखि ०.७ डिग्री सेल्सियस तापक्रम बढ्न प्रक्षेपण गरिएको छ,’ रणनीतिमा भनिएको छ।

हिमालमा के हुन सक्छ अन्य असर ?

हिमालमा जलवायुले पारेका असरका कारण हिमालको अस्तित्व सकिने, पानीको स्रोतहरू सुक्ने, हिमताल फुट्ने, हिमपहिरो जाने, पर्यटक घट्ने, बसाइँ सर्नुपर्ने अवस्था आएर त्यहाँका संस्कृति लोप हुनेलगायतका असर देखिने बताउँछिन् पर्वतीय क्षेत्रका मुद्धामा पैरवी गर्दै आएकी जलवायु अभियन्ता गीता पाण्डे। पर्वतीय क्षेत्रमा जलवायुले पारको असर न्यूनीकरण तथा अनुकूलनका लागि निरन्तर पैरवी आवश्यक रहेको उनको सुझाव छ।

जलवायु परिवर्तनसम्बन्धी २१औँ विश्व सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो। पेरिस सम्झौताबमोजिम तापक्रमका वृद्धि १.५ डिग्री सेल्सियसमा कायम भए तापनि यस २१औँ शताब्दीका अन्त्यसम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमताल पग्लिने प्रक्षेपण गरिएको छ। इसिमोडको हालैको अध्ययनअनुसार ६५ प्रतिशत हिमपिण्ड सकिएको छ। यस शताब्दीको अन्त्यसम्ममा पानीको उपलब्धता घट्ने अध्ययनमा उल्लेख छ।

नेपाल सरकारले आगामी ३० वर्ष (२०७८–२१०८) का लागि तयार गरेको राष्ट्रिय अनुकूलन योजनामा विगतका तुलनामा वर्षामा आएको कमीले गर्दा नदी खोलामा पानीका बहाव कम भएकाले आव २०७७/७८ मा ६.९ प्रतिशत जलविद्युत् उत्पादन घटेको उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा तापक्रमका वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेन्टिग्रेड रहेको छ। हिन्दुकुश हिमालयका मूल्याङ्कन प्रतिवेदनअनुसार विश्व तापक्रम वृद्धि पेरिस सम्झौताबमोजिम १.५ डिग्री सेन्टिग्रेड कायम गर्न सकिएमा पनि हिमालय क्षेत्रको तापक्रम त्योभन्दा औसतमा ०.३ दखि ०.७ डिग्री सेन्टिग्रेड बढी हुने देखाएको छ।

तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेडमा कायम राख्न सकिए पनि एक्काइसौँ शताब्दीको अन्त्यसम्म हिमालय क्षेत्रबाट ३६ प्रतिशत हिउँ पग्लिने अध्ययनले देखाएको छ। इसिमाडको तथ्याङ्कअनुसार हिन्दकुश हिमालय क्षेत्रका हिमनदीका अनुगमन र विश्लषण गर्दा हिमनदीका पिण्ड ६५ प्रतिशतले घटेका पाइएको छ।

पैरवीमा जोडबल निरन्तर

गत वर्ष यूएइको दुबईमा सम्पन्न २८औँ कोपमा पनि नेपालको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका थिए। ‘म यहाँ ३० मिलियन नेपालीको सन्देश बोकेर आएको छु,’ प्रधानमन्त्री दाहालले सम्बोधनको सुरुमै भनेका थिए, ‘तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रान्त पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ।’

यस बेलामा पनि पर्वतीय क्षेत्रको मुद्दाले विश्व समुदायमा चर्चामा ल्यायो। कोपमा पहिलोपटक हिमालको मुद्दा छलफलमा समाहित गरियो। यसअघि नेपालले जोडदार रूपमा हिमालको मुद्दा कोपमा समाहित गराउन जोडबल गर्दै आइरहेको थियो। यसो त एक वर्षअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणमा आएका थिए। महासचिव गुटेरेसले भ्रमणमा रहेको बेलामा हिमालयबाट बगेका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको भन्दै हिमालको प्रशंसा गर्नसमेत भ्याए। यस्ता हिमनदी पग्लिएमा पानीको स्रोतसमेत सङ्कटमा पर्न सक्ने भन्दै उनले दिएको अभिव्यक्तिले पनि यो वर्ष मुख्य चर्चा पायो। यसले पनि कोपमा पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्न नेपाललाई सहज भयो।

महासचिव गुटेरेसले २८औँ कोप सम्मेलन सुरु हुनुअघि नेपालको भ्रमण गरेर पनि होला, नेपाललाई बढी सम्झाएको थियो। नेपालको भ्रमणको क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रलाई नजिकबाट साक्षात्कार गर्ने मौका पाएर पनि होला उनले हिमालमा परेको जलवायु परिवर्तनको असर पनि नकिजबाटै नियाले। ती अनुभवहरू विश्व सामुदायको अगाडि अभिव्यक्त गरे। हिमालमा जलवायु परिवर्तनको असर यसले हिमाली क्षेत्रको जनजीवनमा पारेको प्रभावलाई बताइदिएर विश्वको नै ध्यान ताने। उनको सम्बोधनले झण्डै १ सय ९२ देशका सहभागीको ध्यान खिच्यो।

डेढ दशकदेखि नेपालले हिमालको मुद्दा उठाउँदै आइरहेको थियो। निरन्तर रूपमा उठाएको मुद्दा कोपमा समावेश होला भन्ने आशा हुन्थ्यो। तर, हिमालका एजेन्डाले कुनै प्राथमिकता नै पाउन सक्दैनथ्यो। जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नै बाँकी नरहने भयो। अब कालापत्थरमा परिणत हुने हो कि भन्ने चिन्ता र चासो उत्तिकै छ सरोकारवालहरूमा। सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न १५औँ कोपमा भाग लिन पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएको थियो। त्यसबेलादेखि नै नेपालले हिमालको मुद्दालाई प्राथमिकता दिएर मुख्य एजेन्डास्वरूप कोपमा लिएर जाने गरेको थियो।

जलवायु परिवर्तनको असरहरूको कारणले पर्वतीय क्षेत्रहरूको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक असरहरूका बारेमा नेपालले सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले निरन्तर आवाज उठाउँदै आइरहेको छ।

कोप २८ ले बढाएको उत्साह

पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८ निर्णयका दस्तावेजमा समावेश गरिएसँगै नेपालका लागि यो महत्त्वपूर्ण र ऐतिहासिक निर्णय भएको थियो। यसले वर्षौंदेखि सफल हुन नसकेको नेपालको लक्ष्य पूरा भएको छ। हिमालको एजेन्डाले पाएको प्राथमिकतासँगै चर्चा पनि पायो। यसै सन्दर्भमा गत कोप–२८ ले पहिलोपटक पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटको बारेमा निर्णय लिँदै गत जूनमा भएको संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (एसबीएसटीए) को ६०औँ बैठकमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका विषय उठाइएको थियो।

यसै सन्दर्भमा पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरूको समान धारणा कायम गरी आगामी दिनहरूमा सो सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउन गत मे २२ र २३ मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधिहरू, विषयविज्ञहरू एवम् साझेदार संस्थाहरू सम्मिलित पर्वतीय क्षेत्र, मानिस र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवादको आयोजना भएको थियो। उक्त सम्मेलनमा पनि हिमालमा परेको असर र आगामी रणनीतिको विषयमा व्यापक छलफल समेत भएको थियो।

आगामी कोपमा पनि हिमालकै मुद्दा प्राथमिकतामा

नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) हुँदै छ। नेपालको तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्र प्रमुख रामचन्द्र पौडेल नै सहभागी हुँदै छन्।

उनले यस वर्षको कोपमा पनि हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउने तयारी छ। १ सय ९२ भन्दा बढी मुलुकहरूको राष्ट्र प्रमुखदेखि उच्चपदस्थ अधिकारीहरूसामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी गराएको छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धु ढुंगानाले कोपमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरलाई कोपको मुख्य एजेन्डा बनाइएको जानकारी दिए।

थामेको हिउँपहिरोको उदाहरण

अधिकांश कोपहरूमा नेगोसिएसनमै निरन्तर भाग लिई कोपमा नेपालको हितमा पैरवी गर्दै आएका मञ्जित ढकालले पनि पर्वतीय क्षेत्रमा जलवायुले पारेको असरका उदाहरण दिँदै र जलवायुजन्य हानिनोक्सानीको एजेन्डामा जोड दिनुपर्ने बताए।

‘यही वर्ष सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक आएको बाढीले करोडौँ क्षति पुगेको छ, यो ताजा हिमपहिरोको उदाहरणले यसपटकको कोपमा अझै पर्वतीय क्षेत्रको मुद्दाले प्राथमिकता पाउने आशा छ,’ कोपमा भाग लिन बाकु पुगिसकेका ढकालले भने, ‘मङ्गलबार र बुधबार अतिकम विकसित मुलुकहरूको समूह (एलडीसी)को बैठकसमेत भएको, एलडिसीको तर्फबाट साझा मुद्दाका रूपमा पर्वतीय क्षेत्रको सुरक्षाका पक्षमा पैरवी गर्ने तयारी भएको छ।’

प्रकाशित: २३ कार्तिक २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast